Logo

प्रेस युनियनको पदाधिकारीमा दिलीप र जीवन सर्वाधिक लोकप्रिय



हेटौंडा, ९ साउन । नेपाल प्रेस युनियनको हेटौडामा सम्पन्न महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत ल्याउँदा निकटम प्रतिश्पर्धी अनिता विन्दुले ६१२ मत ल्याएकी छन् । नयाँ कार्यसमितिको पदाधिकारीमा भने महासचिवमा निर्वाचित दिलिप पौडेल र उपत्यका प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित जीवन भण्डारी सर्वाधिक लोकप्रिय देखिएका छन् ।

पदाधिकारीमा पौडेल र भण्डारीले मात्रै ८०० भन्दा बढी मत ल्याएका हुन् । पदाधिकारीमा सबैभन्दा धेरै मत ल्याएका पौडेललाई ८७८ जनाले मतदान गरेका थिए भने भण्डारीलाई ८४२ जनाले मतदान गरेका थिए । दुवै जनाले आफ्ना प्रतिश्पर्धीभन्दा दोब्बर मत पनि ल्याएका छन् । पौडेलका प्रतिश्पर्धी जगन्नाथ दुलालले ४५१ र भण्डारीका प्रतिश्पर्धी निरज खतिवडाले ४६२ मात्र मत प्राप्त गरेका थिए ।

उपत्यका उपाध्यक्षमा उपत्यकाका मतदाताले मात्रै मतदान गर्ने गलत बुझाईका कारण धेरै मतदाताले अरु पदमा मतदान गरेपनि उपत्यका उपाध्यक्षमा भने मतदान नगरेको पाइएको निर्वाचन समितिका राजकुमार कार्कीले बताए । उपत्यका उपाध्यक्षमा पनि देशभरीका सबै प्रतिनिधिले मतदान गर्न पाउने भन्ने बुझाई सबैमा भएको भए भण्डारीको मत अझ धेरै हुने कार्कीले जानकारी दिए । निर्वाचित पदाधिकारी मध्ये अधिकांश लम्साल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा लम्साल पक्षका प्रेम केसी विजयी हुँदा अध्यक्षका दावेदार भएपनि बरिष्ठ उपाध्यक्षको उम्मेदवार भएका सरोज अधिकारी पराजित भएका छन् । खुल्ला दुई उपाध्यक्ष मध्ये एक जना लम्साल प्यानलका नकुल अर्याल र अर्का एक जना अनिता प्यानलका भिष्मराज ओझा विजयी भएका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा विजयी शलोजा दाहाल र समावेशी उपाध्यक्षमा विजयी दिपेन्द्र वान्तवा पनि लम्साल प्यानलकै हुन् । कोषाध्यक्षमा भने थोरै मतान्तरले अनिता समूहका माधव धिताल विजयी भएका छन् । उनले लम्साल प्यानलका रमेश वाग्लेलाई पछाडी पारेका हुन् । युनियनका कुल महाधिवेशन प्रतिनिधि मध्ये १३ सय ९२ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्