काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समितिले काम गरिरहेकोले अहिले यसबारेमा कुनै टिकाटिप्पणी नगर्ने बताएका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जनार्दन शर्मा निर्दोष हो कि होईन भन्नेबारेमा पनि एक शब्दपनि बोलेनन् । उनले छानबिन समितिको प्रतिवेदन बाहिर नआएसम्म आफूले नबोल्ने बताए ।
गुरुङले तोकिएकै समयमा समितिले यो प्रकरणको बारेमा रिपोर्ट सार्वजनिक गरिने विश्वास दिलाए । पत्रकार धमलाले पटक पटक छानबिन समितिको कामबारे प्रश्न सोधेपछि गुरुङ जंगिएका थिए ।
उनले भने,‘तपाईँले यो विषयमा जसरी बहस गर्न खोज्नुभएको छ, यो बहस नै बेठिक छ, छानबिन समितिलाई बद्नाम गर्न खोज्नुभएको छ । त्यो पक्षमा म छैन् । समितिको मर्यादाअनुसार जानुपर्छ ।’ गठबन्धनका नेताहरु जनार्दन शर्मालाई बचाउन लागेको हो भन्ने धमलाको अर्को प्रश्नमा उनले जसले बचाउ गरेको हो उसलाई सोध्न आग्रह गरे ।