Logo

रामहरि खतिवडाको प्रतिप्रश्नः “कांग्रेसको प्रधानमन्त्री प्रचण्ड कसरी हुन्छन् ?”



काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दोस्रो स्थान दाबी गर्नु स्वाभाविक भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “अबको निर्वाचनमा पहिलो हुने राजनीतिक पार्टी नेपाली कांग्रेस नै हो । सबैलाई सन्तुलन मिलाएर जाने सामथ्र्य कांग्रेससँग मात्र भएकाले प्रचण्डले दोस्रो पार्टीको दाबी गर्नु स्वाभाविकै हो । यस अर्थमा म प्रचण्डजीको आलोचना गर्दिनँ । धन्यवाद नै दिन्छु ।”
आगामी निर्वाचनपछि नेपाली कांग्रेसको प्रधानमन्त्री प्रचण्ड नै हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “प्रचण्डले नचिनेको नेपाली जनता, जनताले नचिनेको प्रचण्ड होइन । अहिले नै म फलानो र ढिस्कानो प्रधानमन्त्री भन्ने पक्षमा छैन । प्रचण्ड माओवादीको प्रधानमन्त्री हो । कांग्रेसको प्रधानमन्त्री प्रचण्ड कसरी हुन्छ ? हामीसँगै प्रधानमन्त्री हुने धेरै राम्रा नेताहरु छन् । प्रधानमन्त्रीको आकांक्षा राख्नु नराम्रो कुरा पनि होइन, म आफैं पनि प्रधानमन्त्री हुन चाहन्छु ।”
नेता खतिवडाले कांग्रेसभन्दा ठूलो पार्टी भएर आए प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न सकिने पनि बताए । उनले भने, “२०६४ को निर्वाचनमा २४० सिटमध्ये १२१ सिट जितेर प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । नौ महिनाम सरक्क छाड्नुभएको हो । त्यसपछि कहिले केपी ओलीसँग मिल्नुभयो, प्रधानमन्त्री बनाउनुभयो । कहिले शेरबहादुर देउवासँग मिल्नुभयो, प्रधानमन्त्री बन्नुभयो । उहाँ ‘यु टर्न’ गर्न सिपालु हुनुहुन्छ । माओवादी केन्द्र ठूलो पार्टी भएर आएमा हामी उहाँलाई कहाँ नाइँ भन्छौं र ?”
कांग्रेस पराजयसँग कहिले पनि नडराउने पार्टी भएको दाबी पनि उनले गरे । खतिवडाले भने, “म दुईचोटि प्रधानमन्त्री भए पनि सुराही, छाता र कन्तुर लिएर फर्कने किसुनजीको पार्टीको कार्यकर्ता हुँ । सुशील कोइरालाजस्तो सादगी नेताको कार्यकर्ता हुँ । हामी पराजित हुँदा पनि जनता जितून् भन्ने चाहन्छौं ।”
नेपाली नागरिकले नागरिकता पाउने कुरालाई राष्ट्रपतिले अवरोध गर्नुनहुने पनि उनले औंल्याए । खतिवडाले भने, “हामीले अनागरिकलाई नागरिक बनाउने कुरा गरेको होइन, नेपाली नागरिकका सन्तानलाई नै नागरिकता दिने कुरा गरेका हौं । यसमा राष्ट्रपतिले अवरोध गर्नुहुने छैन । त्यसो गर्न उहाँलाई पनि सजिलो हुने छैन ।” साथै उनले उनले प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको जिम्मेवारी अनुरुप हिमाल, पहाडका आठ लाख जनतालाई नागरिकता दिलाउन सफल भएकोमा गृहमन्त्री बालकृष्ण खाँडलाई धन्यवाद पनि दिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग यही सदनमा टुंगिने पनि खतिवडाले बताए । उनले आगामी मंसिर ४ गते निर्वाचन सम्पन्न हुने गरी यही हप्तामा निर्वाचन घोषणा हुने जानकारी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्