एजेन्सी । स्टार फरवार्डद्वय लियोनल मेस्सी र नेयमार जुनियर चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा नान्टेसलाई ४-० गोलले पराजित गर्दै पीएसजीले सुपरकपको उपाधि जितेको हो ।
ब्लोमफिल्ड स्टेडियममा भएको खेलमा पीएसजीलाई जीत दिलाउन नेयमारले दुई गोल गर्दा मेस्सी र सेर्जियो रामोसले एकरएक गोल थपे । खेलको २२ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नेयमारले फ्रि किकमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
५७ औं ,मिनेटमा रामोसले ब्याकहिल गोल गर्दा पीएसजीले ३–० गोलको अग्रता लिएको थियो । ८१ औं मिनेटमा चार्लेस कास्टेल्लोटो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो । लगत्तै नेयमारले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० गोलको जीत दिलाए । जीतसँगै पीएसजीले सिजनको पहिलो उपाधि जितेको छ ।