साउन १७, काठमाण्डौ । नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टी व्यक्त गरेको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिंसाको बाटोमा हिँडेको नेकपालाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले शान्तिको बाटोमा ल्याएको तर अहिले फेरी हिंसातर्फ धकेल्न खोजिएको आरोप लगाएका हुन् । हतियारसहित सशस्त्र युद्धमा होमिएको पार्टी शान्तिपूर्ण बाटो आइसकेपछि कुनै पनि बहानामा निरुत्साहित गर्न नहुने भट्टराईको माग छ । ओली सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वय गर्दै लैजानुपर्ने एमालेको तर्क छ ।
भट्टराई भन्छन्–”विभिन्न बहानामा विप्लव समुहलाई पत्र काट्ने, र उनीहरुलाई फेरी त्यही बाटो रोज्नका लागि विवश बनाउनका लागि सरकार उद्धत भएको हो भने म प्रमुख प्रतिपक्ष दलको हैसियतले यो कामबाट सरकार तत्काल पछि हट्न, उहाँहरुलाई काटेको त्यो पत्र फिर्ता लिन, र उहाँहरुले जुन शान्तिपूर्ण बाटोबाट राजनीतिक दल दर्ता गरेर अब हामी प्रतिस्पर्धाको र शान्तिपूर्ण बाटोबाट राजनीति गर्छु भनेर त्यो बाटो रोज्नुभएको छ, त्यसमा प्रोत्साहन गर्नका लागि पनि म नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।”
ललितपुर जिल्ला अदालतले सोमबार नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।।