काठमाडौं, १९ साउन । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बाढी पहिरोका कारण सिर्जित विपद् व्यवस्थापनमा सरकार तदारुकताका साथ लागिरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “बाढी पहिरोका कारण देशभरिका सबै ठाउँ प्रभावित छन् । कोसीको बाँध फुटेर धार परिवर्तन गर्दा उदयपुर, सुनसरी र सप्तरी उच्च जोखिममा छन् । धार परिवर्तन हुने ठाउँमा सर्नू भनेका छौं । बाढीपीडितलाई स्कुल, मठमन्दिर, सामुदायिक भवनमा राखेर उद्धार र राहत कार्यमा खटिएका छौं । म्याग्दीमा पहिरो गएको छ । राजमार्गहरु बन्द हुँदै खुल्दै गरेका छन् । जहाँ विपद् छ, सरकार त्यहाँ खटिएको छ ।”
गृहमन्त्रालयले सबै सरकारी र गैरसरकारी निकायबीच समन्वय गरिरहेको पनि प्रवक्ता पोखरेलले बताए । उनले भने, “प्रकृतिसँग जुध्न कठिन छ । सम्पूर्ण सरकारी मिसनरी तमाम जटिलताका बाबजुद पनि लागिरहेका छौं । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, प्रदेश सरकार, रेडक्रस आदि संस्था विपद् व्यवस्थापनमा लागेका छन् । सकेसम्म मानवीय क्षति हुन नदिने, मानवीय सम्पत्ति सुरक्षित राख्ने, खाना र बासको व्यवस्थापनमा लागिपरेका छौं । उद्धार र राहतका कार्यक्रममा कमी हुने छैन ।