काठमाडौं, २४ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धनबारे सिट बाँडफाँटको मोडालिटी प्रस्तुत गरेका छन् । उनले आज देउवालाई बालुवाटारमा भेटी २०७४ को निर्वाचनको परिणामलााई मुख्य आधार मानेर मोडालिटी बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ ।
खनालले स्थानीय निकायको निर्वाचन परिणामलाई पनि आधार मानेर सिट बाँडफाँटबारे कुराकानी गरेको बुझिएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई सन्दर्भ सामाग्री बनाउनुपर्नेमा जोड दिए ।
खनालले प्रत्यक्षतर्फ जुन दलको सांसदले जितेको हो उही दललाई उक्त सिटमा चुनाव लड्न दिने र अन्य ठाउँमा पछिल्लो चुनावी परिणाम र विगतको परिणामलाई आधार मानेर बढ्नेबारे कुरा गरेको बुझिएको छ । खनालको प्रस्तावप्रति देउवा सकारात्मक भएको र सबैलाई न्यायोचित सिट बाँडफाँटको सुनिश्चितता प्रदान गर्ने बताएको बुझिएको छ ।
खनालले इलामका चीया किसानहरुको समस्याबारे पनि कुराकानी गरेका थिए ।-File Photo