Logo

मोदीलाई योगीको भर



काठमाडौं, २६ साउन । भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री बनेको ३ वर्ष कट्दा नयाँ घटनाक्रम विकास भएको छ । त्यहाँको सत्ता गठबन्धनको एक घटक जनता दल युनाइटेड अलग्गिएको छ । नितिश कुमारको दल जेडियु गठबन्धनबाट अलग हुनुलाई आगामी लोकसभा निर्वाचनमा प्रधानमन्त्री बन्ने दौडमा बढेको घटनाका रुपमा विश्लेषण गर्न थालिएको छ ।

मोदी विपक्षीका लागि निकै वजनदार बनेपछि कँग्रेस आईसहित क्षेत्रीय दलहरु एकढिक्का हुन प्रयासरत छन् । सोनिया गान्धी नेतृत्वको कँग्रेस आई, ममता बेनर्जी नेतृत्वको तृणामुल कँग्रेस, अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी, लालु यादवको दल राष्ट्रिय जनता दल, महाराष्ट्रमा प्रभावशाली शिव सेना, तालिम नाडुमा प्रभावशाली एआइडीएमकेका अलावा कम्युनिस्ट पार्टीहरु एक हुन खोज्दैछन् । उनीहरु कुनै एकलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर २०२४ को लोकसभा चुनावमा जाने तयारीमा छन् ।

भाजपाविरुद्ध विपक्षीसहित क्षेत्रीय दलहरु एक भएमा चुनाव मोदीका लागि चुनौतीपूर्ण हुन्छ । विशेषगरी लोकसभामा बढी निर्वाचन क्षेत्र रहेका उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल, महाराष्ट्रमा भाजपाको बढी ध्यान केन्द्रित छ । त्यसमाथि मोदीले निकै आशा गरेको उत्तर प्रदेश नै हो ।
भारतको राजनीतिको केन्द्रका रुपमा उत्तर प्रदेशलाई मानिन्छ । यही प्रदेशबाट गान्धी परिवारले चुनाव लड्दै आएको छ । मोदी पनि उत्तर प्रदेशको बनारसबाट चुनाव जितेका थिए ।

उत्तर प्रदेश सबैभन्दा बढी जनसंख्या रहेको भारतको प्रदेश हो जहाँ लोकसभाको ८० सिट छ । उत्तर प्रदेशमा योग आदित्यनाथ मुख्यमन्त्री छन् । उनले चुनावमा दुई कार्यकाल मुख्यमन्त्री बनेर किर्तिमान बनाएका छन् । योगी उत्तर प्रदेशमा प्रभावशाली छन् । उनलाई मोदीपछिको भारतको प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ । मोदीलाई पनि योगीको बढी भर पर्नुपर्ने अवस्था विकास हुँदैछ । उत्तर प्रदेशको चुनावी अवस्थाले भाजपा तेस्रोपटक सत्तामा पुग्ने या नपुग्ने टुंगो लाग्न सक्छ ।

विगतका दुईवटा लोकसभा चुनावमा पनि भाजपाले सबैभन्दा ठूलो सफलता उत्तर प्रदेशमै प्राप्त गरेको थियो । उसलाई बहुमत दिलाउने गरी उत्तर प्रदेशले दुवैपटक योगदान गरेको थियो । सन् २०१४ मा ८० मध्ये ५३ र २०१९ मा ६२ सिट दिलाएको थियो ।

नितिश कुमारले गठबन्धन छाड्दा त्यहाँको ४० सिटमा फरक पर्न सक्छ । २०१९ को चुनावमा नितिशकुमारसँग गठबन्धन गर्दा भाजपाले १७ सिट जितेको थियो । जेडियूले १६ सिट र लोक जनशक्ति पार्टीले ६ सिट जित्यो ।

पञ्जाब र दिल्लीमा आम आदमी पार्टी बलियो बन्दै गएको छ । त्यहाँ भाजपा कमजोर स्थितिमा छ । लोकसभा चुनावमा दिल्लीमा भाजपाले सबै ७ सिट जितेको थियो ।

मोदीको गृहक्षेत्र गुजरातको सबै २६ सिट भाजपाले जितेको थियो । हरियाणाका १० सिट नै भाजपाले जितेको थियो ।

महाराष्ट्रमा भाजपाले २३ र शिव सेनाले १८ सिट जितेका थिए । शिव सेना भाजपासँग गठबन्धनमा छैन । त्यहाँ पनि असर पर्न सक्छ ।

भाजपासँग गठबन्धनका बलिया दलहरु शिव सेना देखि जेडियू तोडिइसकेका छन् । शिव सेना त फुटमा गइसकेको छ । अब भाजपा क्षेत्रीय दलहरुसँग टकरावलमा जाँदा एक्लै चुनाव लड्ने परिस्थितिमा जान सक्छ । त्यतिबेला मोदीका लागि भरपर्दा प्रदेशहरुमा उत्तर प्रदेश, गुजरात, कर्नाटक, उडिसा नै हुन् । गुजरात उनको गृहक्षेत्र हो । धेरै सिट भएको उत्तर प्रदेशमा यसअघि जितेका सिट जित्नुपर्ने वाध्यता पर्दा मोदीलाई योगीको बढी भर पर्ने अवस्था विकास भएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्