काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले चुनावी तालमेल अप्ठ्यारो भए पनि एकअर्कालाई स्वीकारेर जानुको विकल्प नभएको बताएका छन् ।
“तालमेल सबैभन्दा अप्ठ्यारो पाटो हो । तर त्यही पाटोभित्र कुरा मिलाउनु पर्छ । सबैले आफ्नो ढिपी गरेर तालमेल हुँदैन । एकले अर्काको अस्तित्वलाई सम्मान गरेर र विन–विन हुने गरी नै अगाडि बढ्ने हो । गठबन्धनमा मतभेद छन्, तर मनभेद छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता आङदम्बेले भने ।
उनले गठबन्धनको कार्यदलले तय गरेका आधारमा नै तालमेल हुने औंल्याए । आङदेम्बेले थपे, “गठबन्धनको कार्यदलले २०७४ को आम निर्वाचन, समानुपातिक मत, स्थानीय तहको निर्वाचन अनि पार्टीको संवेदनशीलतालाई पनि कसौटीमा राखेर तालमेल गर्ने आधार तय गरिसकेको छ । कतिपय वरिष्ठ नेताहरु पहिलेको गठबन्धनका कारण संसद् बाहिर परेको अवस्था छ । त्यसलाई पनि ध्यान दिनुपर्छ ।”
पुरानालाई निषेध गरेर भन्दा पनि नयाँ र पुरानोबीच समन्वय गरेर देश अगाडि बढ्नुपर्ने नेता आङदेम्बेको भनाइ छ । उनले भने, “हामीले निराशालाई आशामा बदल्ने हो, आशालाई थप भरोसा दिने हो । जनता आशावादी छन् । पुराना नेतृत्वलाई ल्याउने कि नल्याउने जनताको हातमा छ । नेताहरुमा उमेर र इमानदारीको खाँचो छ । इमानदारी भएन भने उमेरको मात्र काम छैन । नयाँ अनुहार मात्र नभएर नयाँ सोच पनि चाहिन्छ । त्यसमा जनताको भविष्य खोज्ने कुरा हुन्छ । पुरानोलाई निषेध गरेर जाने कुरामा म सहमत छैन । यसमा स्वस्थ छलफल र बहस होस् ।”