Logo

तनहुँ–१ मा रामचन्द्र पौडेलले फर्काउलान् त कांग्रेसको विरासत ?



–कमलमणि पोख्रेल

तनहुँ जिल्लाको राजनीतिमा नेपाली कांग्रेस सधैँभरी हाबी भइरहन्थ्यो, २०७४ साल अगाडीसम्म । प्रतिनिधिसभाको दुईवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा २०७४ सालको चुनाबपछि कांग्रेस पत्तासाफ भयो भन्दा फरक पर्दैन । उक्त निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाका दुई वटा र प्रदेश सभाका चार वटा अर्थात सम्पूर्ण क्षेत्र गुमाएको थियो । बाम गठबन्धनका उम्मेदवारले कांग्रेसलाई पराजित गरेका थिए ।

यो त भयो स्मरण, अब यही स्मरणका आधारमा मंसिर चार गते हुने निर्वाचनको लेखाजोखा गरौँ।
तनहुँ जिल्लाले पाएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली नेता हुन रामचन्द्र पौडेल । मन्त्री, उपप्रधानमन्त्री, प्रतिनिधिसभाको सभामुख, नेपाली कांग्रेसका उपसभापति, कार्यबाहक सभापति भइसकेका पौडेलको राष्ट्रिय राजनीतिमा पनि बोली बिक्छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त झन उनै पौडेलको अगुवाईमा मुलुकको राजनीति हिँडिरहेको छ भन्दा फरक नपर्ला ।


उनै पौडेल एकपटक मुलुकको प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसो त उनी कांग्रेसको सभापति पनि बन्न चाहन्थे । तर आफ्नै गुटभित्रको झगडा मिलाउन नसक्दा १४ औँ महाधिवेशनको मैदान नै छोड्नुपरेको थियो ।
सम्भवत अन्तिमपटक उनी प्रधानमन्त्रीका लागि प्रयासरत छन्, र त्यसैका लागि लामो समय सभापति शेरबहादुर देउवाका लागि प्रतिपक्ष बनेका उनी अहिले उनै देउवा गुटमा छन् । प्रधानमन्त्री नपाए पनि राष्ट्रपति बनेर राजनीतिक जीवन अन्त्य गर्ने पौडेलको चाहना छ ।
त्यसैका लागि उनी यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाब लडेर जित्न चाहन्छन्, र त्यसका लागि उनको निर्वाचन क्षेत्र हुनेछ तनहुँ क्षेत्र नम्बर एक ।

२०७४ को निर्वाचन :
नेपाली कांग्रेसको ‘गढ’को पहिचान बनाएको २००७ सालको प्रजातान्त्रिक आन्दोलनयताका हरेक आन्दोलनमा अगाडि रहेको तनहुँ जिल्लामा पहिलो पटक सबै क्षेत्रमा कांग्रेसका नेताहरुलाई पराजित गर्दै वाम गठबन्धनका नेताहरु विजयी भएका थिए ।
तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएका छन् । विजयी श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत पाए । दुईबीचको मतान्तर ६ हजार ८ सय २ हुन आउँछ ।

त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन गरेर चुनाब लडेका थिए । एमालेका श्रेष्ठले पाएको मतमा माओवादीको पनि थियो । तर अहिले अवस्था फरक छ ।

त्यसबेला एमालेका उम्मेदवारलाई मतदान गरेको माओवादी यसपटक कांग्रेसतिर जाने देखिन्छ । अहिलेसम्मको राजनीतिक समिकरण हेर्दा ५ दलीय गठबन्धनका कारण एमाले एक्लै हुन सक्छ । अझ एमालेबाट चुनाब जितेका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा छन् । गठबन्धनका कारण क्षेत्र नम्बर एकमा कांग्रेसका तर्फबाट पौडेल र नेकपा एसका तर्फबाट श्रेष्ठको दाबी हुन सक्ने देखिन्छ ।

रोचक पक्ष के छ भने श्रेष्ठ चुनाबअघि नै एमालेमा फर्किने सम्भावना पति उत्तिकै छ । श्रेष्ठ एमालेमा नफर्किने हो भने क्षेत्र नम्बर एकबाट गठबन्धनले उनलाई उम्मेदवार बनाउन निकै मुस्किल छ । किनकी श्रेष्ठका लागि पौडेल बाधक ।

जे होस्,
श्रेष्ठ एमालेमा गए पनि नगए पनि यसपटक पौडेललाई चुनाब जित्न सहज देखिन्छ । कांग्रेस र माओवादीको मात्रै मतले पनि पौडेललाई जिताउन सक्ने अवस्था छ ।
तर,
रामचन्द्र पौडेलका लागि सबैभन्दा ठूलो तगारो हो गोविन्दराज जोशी । विभिन्न कारणले आफ्नो राजनीति सकाएर बसेका जोशी अब पौडेलको राजनीति सिध्याउन चाहन्छन् । कुनै बेला कांग्रेसको प्रभावशाली नेता, अझ रामचन्द्र पौडेलभन्दा धेरै प्रभाव भएका जोशी, भ्रष्टाचारको मुद्धा लागेपछि ओरालो लागे ।
आरोपित अवस्थामै २०६४ सालको संविधानसभा निर्वाचन लडेका जोशी पराजित भए । त्यसपछि उनी माथि उठ्न सकेका छैनन् । तर पौडेलको खुट्टा तान्ने राजनीति जारी राखेका छन् ।

२०७४ को चुनाबमा पौडेलविरुद्ध बागी उम्मेदवारी दिए पनि भ्रष्टाचारको मुद्धा विचाराधिन रहेको अवस्थामा उम्मेदवार बन्न नपाउने भन्दै पौडेलले नै उजुरी गरेपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । पछि जोशीलाई कांग्रेसले पार्टीबाटै निष्कासन गर्यो ।

त्यसपछि जोशीले आफ्नो हातमा रहेका कांग्रेसका मतदातालाई एमालेमा मतदान गर्न लगाए । एकातिर बाम गठबन्धन, अर्कोतिर कांग्रेसको जोशी पक्षले भोट काटेपछि पौडेल पराजित हुन पुगे ।

गठबन्धनका कारण यसपटक पौडेललाई चुनाब जित्न त सहज छ, तर जोशी पक्षले नतिजा उल्ट्याइदिन सक्छ । जोशीले पौडेलले निर्वाचन लड्ने क्षेत्र नम्बर एकमा नै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत निर्वाचन लड्ने रणनीति जोशीले बनाएका छन् ।

जोशीको रणनीतिलाई कमजोर किन पनि आँक्न मिल्दैन भने गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । उनी कांग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

जोशीलाई एमालेले पनि मतदान गरेकाले जम्मा २५२ मतले पछि परे । प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले जोशीलाई सघाउन सक्छ । त्यो भने माथि भनिए जस्तो किसान श्रेष्ठको अवस्थामा भर पर्छ ।

पौडेललाई अर्को चुनौति
तनहुँ क्षेत्र नम्बर एकमा चुनाब लड्नका लागि कांग्रेसबाट पौडेल मात्रै निर्विकल्न उम्मेदवार होइनन् । सोही क्षेत्रमा सक्रिय प्रभावशाली नेता शंकर भण्डारी पनि छन् । २०७० सालको निर्वाचनमा विजयी भएका भण्डारीको घर क्षेत्र नम्बर एकमै छ । तर उनलाई २०७४ को चुनावमा क्षेत्र नम्बर २ मा पुर्याइयो र पराजित भए । भण्डारीलाई एक नम्बरमा छोड्ने हो भने सजिलै चुनाब जित्ने तनहुँ कांग्रेसका नेताहरु बताउँछन् ।

अर्का नेता गोविन्द भट्टराई पनि एक नम्बरकै हुन् । उनी पनि एक नम्बरबाटै चुनाब लड्न चाहन्छन् । तर पौडेल र भण्डारीको चेपुवामा भट्टराई पर्न सक्छन् । भट्टराईलाई अघिल्लो चुनाबमा एक नम्बर क्षेत्रको प्रदेशसभा एकमा उम्मेदवार बनाइएको थियो । तर बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका हुन् ।

वरिष्ठ नेताको हैसियतले पौडेलले नै टिकट पाउनेमा दुई मत छैन । तर भण्डारी र भट्टराईलाई खुशी पार्न नसके चुनाबमा सहयोग नहुन सक्छ ।

५ दलीय गठबन्धनको आडमा आफ्नै पार्टीका नेता कार्यकर्ता मिलाउन सकेनन् भने पौडेलले राजनीतिक जीवनको सम्भवतः अन्तिम चुनाबमा पराजय भोग्नुपर्यो भने त्यो समग्र कांग्रेसका लागि पनि तीतो हुनेछ ।



प्रतिक्रिया दिनुहोस्