Logo

कम्तीमा पनि पाँच-दस वर्ष विदेशमा पढेका वा काम गरेका व्यक्तिले देशको नेतृत्व गर्नुपर्छः डा. लोक भट्टराई



काठमाडौं, ५ भदौ । विकासविद् डा. लोक भट्टराईले कम्तीमा पनि पाँच-दस वर्ष विदेशमा पढेका वा काम गरेका व्यक्तिले देशको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
“राजनीति गर्ने प्रशस्त व्यक्ति नेपालमै छन् । मैले राजनीतिमा जाने सोचेको पनि छैन । तर पार्टीहरुले डेलिभरी नदिएपछि जनतालाई विकल्प त चाहियो नि । तर एउटा कुरा के साँचो हो भने विदेशमा बस्नेले जति स्वदेशमा बस्नेले नेपालको माया गर्दैनन् । विदेशमा कम्तीमा पनि पाँचदस वर्ष पढेका, काम गरेका व्यक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मेरो धारणा छ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै डा. भट्टराईले भने ।
नेपालका नेताहरुले स्वीजरल्यान्ड र सिंगापुरका कुरा नबुझीकन गरिरहेको उनको आरोप छ । नेपाल अब सिंगापुर कि मलेसियाको मोडलमा जाने भन्ने पत्रकार धमलाको प्रश्नमा डा. भट्टराईले भने, “मैले १५ वर्ष युरोप र अमेरिकी मुलुकमा अध्ययन गरेको हुँ । नेपालले टाढाभन्दा नजिकका बंगलादेश, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भियतनाम, कोरिया, इजरायल मध्यम अर्थतन्त्र भएका मुलुकबाट सिक्न सक्छ । नेपालले भारत र चीनका साथै बेलायत, क्यानडाबाट पनि सिक्नुपर्छ । एउटा मुलुकको मात्र ठ्याक्कै कपी गर्न सकिँदैन । सबै मुलुकबाट सिक्न सकिन्छ ।”

नेपालको विकास किन हुन सकेन भन्ने अर्को प्रश्नमा उनले थपे, “नेपालको योजनामा समस्या छ । डेलिभरी दिने कर्मचारीतन्त्रमा पनि समस्या छ । शिक्षा, सुशासन, जनताको चेतनाको स्तर र सोच्ने शैलीमै समस्या छ । शिक्षालाई सीपसँग, सीपलाई बजारसँग, बजारलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडिएको छैन । विकास गर्ने हो भने यही चक्रीय शृंखलामा काम गर्नुपर्छ ।”
नेपाल श्रीलंकाको बाटोमा गइसकेको पनि विकासविद् डा. भट्टराईको कथन छ । उनले भने, “अहिले वार्षिक निर्यात दुई खर्ब मात्र छ भने आयात २० खर्ब छ । अर्थात् दस गुना बढी निर्यात छ । हामी एक रुपियाँको बेच्छौं, १० रुपियाँको किन्छौं । कुनै व्यक्तिले एक लाख कमाउँछ र १० लाख खर्च गर्छ भने उसको स्थिति के होला ? एक वर्षअघि श्रीलंकाको स्थिति अर्कै थियो, १२ खर्बको निर्यात थियो, १२ खर्ब आयात थियो । बिस्तारै पर्यटन ब्रोकन डाउन भएर गयो । अर्गानिक उत्पादनका नाममा चिया ब्रेक लाग्यो । श्रीलंकाका शासकहरु पनि सिंगापुरको सपना लिएर हिँडेका हुन् । उसको अझै पनि होप छ । स्रोत साधन सम्पन्न देश हो । अहिले नीतिगत कारण मात्र समस्या आएको हो ।”
अनुत्पादक क्षेत्रमा ऋण खर्चनु नेपालको डरलाग्दो समस्या भएको पनि उनले औंल्याए । डा. भट्टराईले भने, “हामीले नेपाल कृषिप्रधान देश भनेर पढेका हौं । बिस्तारै चामल किनेर खाने देश भयो । आयात घटाउने र निर्यात बढाउनेतिर लागेका छैनौं । पाएजति ऋण लिएका छौं । सबैभन्दा डरलाग्दो के भने अनुत्पादक क्षेत्रमा ऋण खर्च गरिएको छ ।”
संघीयताले जनतालाई डेलिभरी दिन नसकेको पनि डा. भट्टराईले औंल्याए । उनले भने, “म संघीयतालाई खराबै हो चाहिँ भन्दिनँ । तर संघीयताले डेलिभरी दिन चाहिँ सकेन । संघीयताका नाममा साधारण खर्च बढाउने, सेवा सुविधा बढाउने र कर्मचारीको संख्या थप्ने र बजेट छर्ने काम मात्र भयो । अहिले म बसेको क्यानडामा ६ वटा टाइमजोन छ । हिउँका कारण ६ महिना देशको सीमा वारपार गर्न नै समस्या छ । त्यहाँ तीन तहको संघीयता आवश्यक थियो । तर हाम्रो देशमा बिहान महेन्द्रनगरकाट हिँड्दा बेलुका काँकडभित्ता पुग्न सकिन्छ । यो कुरा नेताहरुले बुझ्न सकेनन् ।”
आफू नेपालप्रतिको ऋण चुकाउनुपर्छ भन्ने पक्षमा रहेको पनि उनले बताए । डा. भट्टराईले भने, “म सरकारको छात्रवृत्तिमा गएको होइन । ग्लोबल कम्पिटिसनमा पढ्न गएको हुँ । तर नेपालको अन्न र पानी खाएको ऋण चुकाउन चाहन्छु । म मात्र होइन, फर्कन चाहने नेपाली धेरै छन् । तर यहाँ सिस्टम देखेर दिक्क भई फर्केका उदाहरण पनि छन् ।”



प्रतिक्रिया दिनुहोस्