काठमाडौं, भदौ ५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ । लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन ।
माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट केन्द्रीय समितिले गर्ने वैधानिक व्यवस्था भए पनि शनिबारको स्थायी समिति बैठकबाटै पदाधिकारी टुंगो लगाइएको हो ।
पदाधिकारीका आकांक्षी बढी भएकाले पछि विधान संशोधन गर्नेगरी २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नामावली पेस गरेका थिए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी माओवादीमा भएको छ ।
तर, माओवादी केन्द्रको विधानमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी रहने उल्लेख छ ।
माओवादी केन्द्रका नवनियुक्त उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारी टुंगो लागेको बताए । उनका अनुसार अहिले टुंगो लागेको पदाधिकारीको टिम पार्टीको विशेष महाधिवेशन नहुँदासम्मका लागि हुनेछ । आगामी निर्वाचनलाई ध्यान दिएर सन्तुलित रूपमा पदाधिकारी टुंगो लगाइएको बताउ“दै उनले विशेष महाधिवेशनबाट फेरबदलसमेत हुनसक्ने औंल्याए ।
११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न गरेको थियो । सोही बेला विचार, संगठनलगायत विषयमा ‘पछि विशेष महाधिवेशन गर्ने’ भनिएको थियो । यद्यपि, विशेष महाधिवेशन गर्ने भनिए पनि त्यसको मिति अझै तोकिएको छैन ।
महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरिएको थियो । यसपछि लामो गृहकार्य गर्दै अन्य पदाधिकारी टुंगो लागेको हो ।
माओवादी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ सर्वसम्मत चयन भएका छन् । यसअघि, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव दाबी गर्दै आएका तथा बनाउने भनिएका नेता कोही उपमहासचिव त कोही सचिवमा सीमित भएका छन् ।
त्यस्तै, पम्फा भुसाल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत, मातृका यादव र गिरिराजमणि पोखरेल उपमहासचिव भएका छन् । यादवले वरिष्ठ उपाध्यक्ष र अन्य नेताले महासचिव दाबी गर्दै आएका थिए ।
दिनानाथ शर्मा, गणेश साह, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की सचिव भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल सर्वसम्मत चयन भएका छन् । शर्मा र साहलाई यसअघि उपाध्यक्ष बनाउने चर्चा थियो ।
पार्टी अध्यक्षपछि दोस्रो कार्यकारी र पछि पार्टी अध्यक्ष हुने मुख्य पद महासचिव हो । महासचिवमै विवाद भएका कारण अध्यक्ष प्रचण्डले लामो समयसम्म पदाधिकारी टुंगो लगाउन सकेका थिएनन् । राजधानी दैनिकबाट