काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गरेका हुन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।
श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको पार्टी कार्यालयमा भीड लागेको छ । आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
केहिबेर अघि पार्टी कार्यालय सानेपा ल्याइएको नेता गिरीको पार्थिव शरिर दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । मेडिसिटी अस्पतालबाट नेता गिरीको शव प्रहरीले स्कर्टिङ गरेर सानेपा ल्याइएको थियो ।
उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
Photo : Mukunda Kalikote