Logo

नेतृत्वले पुस्ता हस्तान्तरणको कुरा बुझ्नुपर्यो, यो निर्वाचनमा युवाले धावा बोल्नुपर्छ : सुदेश पराजुली (भिडिओसहित)



काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा नेता सुदेश पराजुलीले आफ्नो पुस्ताले पार्टीभित्र आत्मसमर्पण नगर्ने बताएका छन् । उनले नेपालका सबै पार्टीका नेतृत्वकर्ताहरुले पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु नगरेको भनेर आपत्ति जनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँहरुले जनक्रान्ति गर्नुभयो । नेपालमा दलीय व्यवस्था स्थापित गर्नको लागि आफ्नो जीवन नै यसको लागि समर्पण गर्नुभएको छ । यसप्रति हाम्रो सम्मान छ । तर, उहाँहरुले नेतृत्व हस्तान्तरण भने गर्नुभएन । नेपाली कांग्रेसभित्र चाहीँ युवाको सन्दर्भमा अलिकति परिवर्तन भयो । त्यहाँ गगन थापा, विश्वप्रकाशजस्ता युवाहरु महामन्त्री हुनुभयो । उहाँहरुले पनि हस्तक्षेप गरेर माथिल्लो निकायमा पुग्नुभयो । तर, कम्युनिष्ट पार्टीमा भने त्यस्तो भएको छैन् । अझैपनि ७० वर्ष कटेकाहरुबाट हामी शासित हुनुपरेको छ । यसका विरुद्धमा, यस्तै यस्तै निर्वाचनजस्तो उत्सवमा हामीले धावा बोल्नुपर्छ ।’

उनले यसपटकको निर्वाचनमा आफूले टिकट पाउनुपर्ने धारणा राखे । उनले भने,‘म अलिकति जनमतको कुरा गर्दैछु, आज नेताहरुको गलत क्रियाकलापले गर्दाखेरि, आजको जनताको बलिदान र रगतले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रप्रति मान्छेले प्रश्न खडा गर्न थालेनि त, हाम्रा नेताहरुको कमिकमजोरीले गर्दा, त्यही भएर नेताहरुले पुस्ता हस्तान्तरणको कुरा बुझ्नुपर्यो । अर्को कुरा, हामीजस्ता युवाहरुलाई यो निर्वाचनमा महत्वपूर्ण स्थान दिनुपर्यो । होईन भने, तपाईँले देख्नुभयो नि, बालेन शाहजस्ता मान्छे उदाए ।’



प्रतिक्रिया दिनुहोस्