काठमाडौं, ८ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कम्पनीले हात पारेको विभिन्न निर्माणका ठेक्का अलपत्र पारेपछि तीन वर्ष प्रतिबन्ध लगाइएको हो ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर नगरकोट सिपाघाट, बालाजु, त्रीशुली छहरे विदुर सडकका काम अलपत्र पारेपछि शैलुङ प्रतिबन्धमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखिएको सूचना नै आज प्रकाशित गरेको छ । शैलुङका मुख्य व्यक्ति अनुप अधिकारी रहेको उल्लेख छ जो शारदाप्रसाद अधिकारीका छोरा हुन् ।
चिनियाँ कम्पनी जोङडिङ इन्टरनेशनल इन्जिनियररिङ लिमिटेड पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र पारेपछि नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ३ वर्षका लागि कालो सूचीमा राखिएको सूचना जारी भएको छ ।
चिनियाँ कम्पनी चाङकिङ वाङवियान इलेक्ट्रिक ग्रुपले विद्युत प्राधिकरणकै काम अलपत्र पारेपछि कालोसूचीमा परेको छ । उक्त कम्पनीको मुख्य व्यक्ति चिनियाँ नागरिक चान चुआन रहेको र ३ वर्ष कालोसूचीमा राखिएको उल्लेख छ ।
आज जारी सूचनामा देशका १० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । उनीहरुले तीन वर्षसम्म निर्माण कार्य गर्ने देखि निवदेदन दिन पाउनेछैनन् ।