काठमाडौं, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । मंगलवार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् ।
दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् ।
मंगलबार पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ ।
हिजो (सोमवार) दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम