काठमाडौं, १५ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपाले सहकार्य गर्ने भएका छन् । यसको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वसँग पटक पटक भेटवार्ता गरिरहेका छन् ।
पछिल्लो भेटमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । यता, राप्रपाको पदाधिकारी बैठकमा पनि एमालेसँग सहकार्य गर्ने निर्णय भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनका अनुसार एमालेसँग चुनावी तालमेल गर्ने भनेर पदाधिकारीले निर्णय गरेको छ।
१६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १५ सिटमा आफ्नो दाबी गरेको चर्चा छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई राप्रपालाई बढिमा १२ सिट दिने सहमति जनाएका छन् । चुनावी सहकार्यबारे एमाले राप्रपाबीच आगामी सोमबार सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।
आगामी चुनावलाई लिएर अहिलेदेखि नै दलहरुले चुनावी सहकार्यको लागि छलफल अघि बढाएका छन् । सत्ता गठबन्धनले पनि आज भोलिभित्रै सिट बाँडफाँड टुँगो लगाउने भएको छ । कांग्रेसले १०० सिटमा दाबी गरेको भने माओवादी केन्द्र, जसपा, नेकपा एसलगायतले भने कांग्रेसले उदारता देखाउनुपर्नेमा जोड दिएका छन् ।