Logo

हत्या आरोपित आलम एकल उम्मेदवार सिफारिस



काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो।

क्षेत्रीय सभापति सेख फैजुल्लाहको अध्यक्षतामा बसेको बैठकले आलमलाई प्रतिनिधिसभा सदस्यका लागि रौतहट–२ बाट एकल उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले आलमलाई एकल उम्मेदवार बनाउने निर्णयसहित क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गरेको जानकारी दिए ।

क्षेत्रीय बैठकले जिल्ला सचिव गिरीलाई पनि रौतहट–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसैगरी रौतहट–२ ‘क’ बाट ६ जनाको नाम सिफारिस गरिए पनि एकजनाका नाममा सहमति गर्ने प्रयास भइरहेको जिल्ला सचिव गिरीले बताए ।

अदालतको पुर्पक्ष आदेशमा ललितपुरस्थित नक्खु कारागारमा रहेका आलमलाई कांग्रेस क्षेत्रीय समितिले उम्मेदवारमा आलमको नाम मात्र सिफारिस गरेको विषयले निकै चर्चा पाएको छ। आलम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाटै निर्वाचित भएका हुन्। बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि सांसदबाट निलम्बित उनी हाल पुर्पक्ष थुनामा छन् ।



प्रतिक्रिया दिनुहोस्