Logo

एमालेले टिकट दियो भने काठमाडौं–१ बाट लड्न तयार छुः टीकाराम भट्टराई



काठमाडौं, १७ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा एमालेले टिकट दिए काठमाडौं–१ बाट लड्न तयार रहेको बताएका छन् । “नेकपा एमालेको क्षेत्रीय कमिटीले पार्टीका तर्फबाट लड्न इच्छुक हुनुहुन्छ भनेर सोध्यो । मैले सहमति दिएको हुँ । तर जिल्ला, प्रदेश र केन्द्रबाट टुंग्याउनै बाँकी छ । त्यसैले अहिले नै यसो भन्न सकिँदैन । एमालेले फाइनल गर्‍यो भने तयार छु,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
तपाईं अब वकालत छाडेर राजनीतिमा लाग्ने भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, “म राजनीतिमा असलंग्न व्यक्ति होइन । अलि फराकिलो हुने मात्र हो । हाम्रो संविधानले महाभियोग सिफारिस समितिमा बसेकाबाहेकलाई वकालत गर्न रोकेको छैन ।”
अर्को प्रसंगमा भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिका सदस्यहरुलाई आफैं अभियोग लगाउने, आफैं प्रश्न सोध्ने कुरा नमिल्ने भन्नु उचित नभएको तर्क गरे । उनले थपे, “प्राकृतिक न्यायको सिद्धान्त अनुसार जसले अभियोग लगाउँछ, त्यो न्यायाधीश हुन मिल्दैन । तर उहाँ आफैं प्रतिवादी भएको संवैधानिक परिषद्को मुद्दा हेर्नुभयो । आफैंविरुद्धको आफैं हेर्छु भन्नुभयो । त्यसैले त्यस्तो प्रश्न उठाउने नैतिकता उहाँले गुमाइसक्नभयो ।”
महाभियोग समितिमा सांसदहरुले सोधेको प्रश्न अनुचित नभएको पनि भट्टराईको दाबी छ । उनले भने, “व्यक्तिगत लान्छना लाग्ने प्रश्न सांसदले पनि नसोधिदिएको भए हुन्थ्यो । त्यस्तै लान्छना लगाउने जवाफ प्रधानन्यायाधीशले पनि नदिएको भए स्वस्थ र मर्यादित हुनुहुन्थ्यो । राणा आफ्नो सहकर्मीलाई मिस्टर भन्नुहुन्छ । त्यो आनन्दमोहन, प्रकाश राउत, हरिकष्ण कार्की भन्नुहुन्छ ।”
साथै उनले नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश अनदेखा गरिनु दुर्भाग्य भएको बताए । राष्ट्रपतिले संवैधानिक सीमामा रहेर विधेयक अघि बढाउनुपर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्