Logo

देउवाले माओवादीलाई काखमा राखेर आफ्ना कार्यकर्तालाई पाखामा पारेकाले शेखर कोइराला ओलीलाई भेट्न जानुभएको होः एमाले नेता



काठमाडौं, १७ भदौ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षसँग आफ्नो पार्टीको सहकार्य असम्भव नभएको बताएका छन् ।
“राजनीतिमा हुनै नसक्ने कुरा के छ र ? कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीलगायतका अरुलाई काखमा राखेर आफ्नै कार्यकर्ता पाखा पार्ने काम गर्नुभएको छ । त्यसले गर्दा मिच्चाइमा पर्नुभएका डा. शेखर कोइरालाले केपी शर्मा ओलीलाई भेट्नु स्वाभाविकै हो । लामो त्याग, तपस्या गरेको पार्टी पंक्तिलाई कांग्रेस कसरी जोगाउने भन्ने होला । दुवै नेताहले मिलेर जाने कुरा ल्याउनुभयो भने छलफल, बहस होला,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने ।
अर्को प्रसंगमा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता भट्टराईले नागरिकता विधेयक पक्ष वा प्रतिपक्षको विषय नभएको पनि औंल्याए । उनले थपे, “अहिले सत्तापक्षले नागरिकता विधेयक छिटो पास गरिहालौं भनेको स्थिति हो । राष्ट्रपतिज्यूबाट आएको सन्देशलाई सम्बोधन गरेर जानुपर्छ भन्ने हाम्रो धारणा हो । विधायन समिति र सदन दुवैमा छलफल गरेर राष्ट्रपतिले उठाएको गम्भीर र संवेदनशील विषयलाई समेट्नुपर्छ । सत्तापक्षले बहुमतका आधारमा पेलेर जान सक्नुहोला । तर नागरिकता राजनीतिक प्रतिद्वन्द्विता वा बहुमत, अल्पमतको विषय होइन ।”
नागरिकता विधेयकमा सत्तापक्ष गैरजिम्मेवार भएर प्रस्तुत भएको आरोप पनि उनले लगाए । उनले भने, “यसले राष्ट्र र जनताको हित गर्दैन । तर जन्मसिद्ध नागरिकता वा गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरामा हाम्रो विरोध होइन, वैवाहिक अंगीकृतको हकमा अवधि राखेर जानुपर्छ भन्ने मात्र हो ।” एमालेले आज रोष्ट्रम घेराउ गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “त्यो त तपाईंले सदनमा देखिहाल्नुहुन्छ नि । हामी आफ्नो विचार राख्छौं । हामीले विधेयकमा फरक मत राखिसकेका छौं । हामी यसलाई राजनीतिक लाभहानिको विषय बनाउन खोजेको छ ।”

 



प्रतिक्रिया दिनुहोस्