Logo

नव जनवादी मोर्चा र पिपुल्स एक्सन पार्टी, नेपालबीच एकता, अध्यक्षमा कृष्णकुमार राई



काठमाडौं, १७ भदौ । नव जनवादी मोर्चा र पिपुल्स एक्सन पार्टी, नेपालबीच एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुई पार्टीबीच एकता भएको जानकारी दिइएको हो । एकतापछि पार्टीको नाम पिपुल्स एक्सन पार्टी, नेपाल राखिएको छ ।

पार्टीको अवधारणा राख्दै नवनियुक्त अध्यक्ष कृष्णकुमार राई ‘सिद्धान्त’ले नव जनवादी मोर्चाले नेपाली राजनीतिमा लामो संघर्ष गरेको बताएका छन् । आम मानिसहरुमा पार्टीप्रति वितृष्णा बढेको भन्दै पार्टीको संख्या घटाउन पनि दुई पार्टी एकीकरण गरेको उनको भनाइ थियो । उनले विगतमा आफूहरु एकीकृत माओवादीमा रहेका समेत स्मरण गराए ।

राईले पार्टीले लामो समय माओवादी आन्दोलनमा योगदान पुर्याएको उल्लेख गर्दै माओवादीले नेपाली राजनीतिलाई सही दिशा दिन नसक्ने आकंलन गरेर पार्टी स्वतन्त्र रुपमा अघि बढेको दाबी गरे ।

उनले आफुलाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरिएको जानकारी दिँदै देशभरिका पार्टीका कार्यकर्ताहरुलाई एकताबद्ध भएर पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरे ।नयाँ पार्टीमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको जनाउँदै अध्यक्ष राईले वरिष्ठ उपाध्यक्षमा बलराम थापामगर र उपाध्यक्षमा चन्द्र शेखर साह र परशुराम चौधरीलाई चयन गरेको जानकारी दिए ।

त्यस्तै, महासचिवमा नविन थापा, सचिवमा ओम भण्डारी, कोषाध्यक्षमा सुनिता न्यौपाने र सदस्यमा देवचन्द्र राई, दीपचन्द्र थापा, कृष्ण बहादुर राई, जित बहादुर पुनलगायत चयन भएका छन् । उनले आफ्नो पार्टी निश्चित राजनीतिक विचार दृष्टिकोणसहित अघि बढ्ने पनिस्पष्ट पारे । यसैगरी, पार्टीले बहुविचारमा आधारित उन्नत लोकतन्त्रको विचारलाई मूल दृष्टिकोण राखेको भन्दै उनले बृद्ध नेताहरुलाई सल्लाहकारको रुपमा राख्ने समेत स्पष्ट पारे ।

उनले भने,‘यो पार्टीमा बुढा/पाका उमेरका नेताहरुलाई सल्लाहकारको रुपमा र युवाहरुलाई नेतृत्वमा ल्याउन सहयोग गर्नेछौं । युवाहरुलाई अघि बढाउने दृढता व्यक्त गर्दछौ ।’

त्यस्तै, पिपुल्स एक्सन पार्टीका संस्थापक बलराम थापाले आफ्नो पार्टीले जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टीका प्रतिनिधिहरुलाई तलब÷भत्ता नचाहिने भन्दै उनले जनताको पसिना खान नहुने तर्क गरे । उनले भने,‘हामीले लिन पनि चाहाँदैनौं ।’ थापाले आफुलाई जनताले माथिल्लो तहमा पुर्याएमा जनताको आकांक्षा अनुसार अघि बढ्ने दृढता व्यक्त गरे । आफुहरुको टिमलाई सम्मान नचाहिने भन्दै उनले फुलको माला र ब्याज नलगाइन दिन समेत आग्रह गरे ।

एकै परिवारका सदस्यहरु कोही स्वेदशमा र कोही विदेशमा बस्न बाध्य बनाउने काम पनि राज्यबाट नै भएको उनको गुनासो थियो । राज्यको गलत नीतिको कारण आज जनता मारमा परेको उनको भनाइ थियो । धेरै दलमा विभिन्न कारणले विभाजन आएको भन्दै उनले आफ्नो पार्टीले धर्म, जाती, घरपरिवार, आफ्नो समुदाय नहेर्ने उनले थप स्पष्ट पारे । उनले नराम्रो काम गरेमा पार्टीले डबल कारवाही गर्नुपर्नेमा जोड दिए । उनले यदि आफुले गल्ती गरेको पाईए खुलामञ्चमा लगेर ढुंगाले हानेर मार्न पनि जनतासमक्ष आग्रह गरे ।

त्यस्तै, पार्टीका उपाध्यक्ष चन्द्रशेखर साहले पछिल्लो समयमा दलहरुमा नातावाद र कृपावाद हावी भइसकेको बताएका छन् । उनले यस्तो पाराले देश नचल्ने दाबी गरे । जनताको लागि नेताले बोल्नेमात्र काम गर्न नहुने भन्दै जनतालाई राहत हुनेगरि काम गर्नुपर्नेमा उनको जोड थियो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्