काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का नेता तथा सांसद रामविर मानन्धरले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले गठबन्धनका साथ चुनावी मैदानमा उत्रिने बताएका छन् । उनले कुनै न कुनै दलसँग आफ्नो दलको गठबन्धन हुनसक्ने सुनाए । उनले भने,”गठबन्धनमा नपुगेका कुनै न कुनै दलसँग हाम्रो पनि गठबन्धन हुनसक्छ । हिजोपनि हामीले गठबन्धनबाट नै धेरै सिट जितेका हौं । अहिलेपनि हुन्छ ।”
उनले आफूले अहिलेको चुनावमा वाम गठबन्धनको सम्भावना नदेखेको स्पष्ट पारे । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेपनि नेतृत्वले पूनर्विचार गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनमा पार्टीले दम्भ देखाएको कारण हार व्यहोरेको उनको टिप्पणी छ । उनले काठमाडौंको निर्वाचन क्षेत्रहरुको कुरा गर्दा अरुको भन्न नसक्ने तर आफूले टिकट पाए जित्ने दाबी गरे । उनले आफूले केशब स्थापितलाई मेयरमा नसघाएको भन्ने आरोपको खण्डन गरे ।
उनले भने-“म चुनाव प्रचारमा नगईदिएको भए, ३८ हजार मत, ल्याउनुहोस त एकचोटी, केशब स्थापितले हाम्रो ६ नम्बर क्षेत्रबाट छाता चिन्ह लिएर उठनुभएको छ, ११३५ ल्याउनुभएको छ, अनि तपाईँले मैले भोट मागिनँ भनेर कसरी भन्नुहुन्छ । यसलाई अफवाह र अतिरञ्जन गर्न खोज्छन्, तर राजनीतिमा चाहीँ यी संस्कारहरु डेभ्लप गर्न सकेन भने फेरि पनि क्लिनस्विप हुने सम्भावना धेरै हुनसक्छ ।”
लगत्तै पत्रकार धमलाले उसो भए एमाले अब क्लिनस्विप हुने भयो त ? भनेर सोधेको प्रश्नमा भने उनको जवाफ थियो-“अब एमाले हुन्छ कि, के के हुन्छ ? हेर्दै जानुहोला ।”