काठमाडौं, भदौ १९। कैलालीस्थित धनगढी बिमानस्थलमा वैदेशिक रोजगारीमा जान लागेका युवा कुटिएका छन् । वैदेशिक रोजगारीमा जान काठमाडौ आउदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् ।
शनिबार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौ आउदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो । उनको आँखामा गम्भीर चोट लागेको छ ।
गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका प्रहरीले कुटपिट गरेको गिरीको आरोप छ । एयरपोर्ट डिउटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले गिरीलाई कुटपिट गरेका हुन्।
त्यसपछि अरु प्रहरीले पनि कुटपिट गरेको उनले बताए । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपिट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो, उनले भने, कुटेको कुरा भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।
उनले आफूले कुनै गालीगलौज नगरेको भन्दै प्रहरीलाई गाली गरेको भनेर कुटेको बताए । पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउँदा उनको जहाज छुटेको र साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले कुटपिट गरेको हो।