Logo

गोकुल बाँस्कोटाको उद्घोष : अब नेपाली कांग्रेससँग एमालेको सिधा टक्कर हुन्छ (भिडिओसहित)



काठमाडौं, २० भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु बढाउनेगरि सरकारले बेइमानी गरेको र आफूहरुले उक्त कदमको विरोध जनाएको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले यसमा समर्थन जनाउँदैनौं । यो अनावश्यक कुरा हो । खासमा कार्यकाल भनेको सपथ खाएको दिन कार्यकाल सुरु भयो, नोमिनेशन गरेको दिन कार्यकाल सकियो । सरल व्याख्या नै यही हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतासँग किन तर्सियो सरकार ? भन्दै प्रश्न उठाए । उनले नेपालमा लोकतन्त्रविरोधी एक जना पनि मान्छे नभएको सुनाए । उनले भने,‘यसो भएको हुँदा उहाँहरुलाई के को निरन्तरता चाहिएको हो ? जागिरको निरन्तरता चाहिएको हो ? हामीले यसमा स्पष्ट असहमति जनाएका छौं ।’

उनले आगामी निर्वाचनको लागि एमालेले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारे । उनले भने,‘अब कसैसित भएन भने एमाले भीख थापेर लौन कांग्रेस हामी पनि यहीँ आउँछु भनेर जानेवाला छैन, नेपाली कांग्रेससँग सिधा टक्कर एमालेको हुन्छ ।’ उनले पाँच दलीय गठबन्धनलाई दल नै नभएको भनेर पनि टिप्पणी गरे । उनले सबै मिलेर आएपनि एमालेले सामना गर्ने सुनाए ।



प्रतिक्रिया दिनुहोस्