Logo

माओवादी केन्द्रलाई ६० सिट दिन सकिँदैन, कांग्रेस ९० भन्दा तल जान सक्दैनः रामचन्द्र पौडेल



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६० प्रतिशतभन्दा कम लिएर पार्टीका साथीहरुलाई चित्त बुझाउन नसकिने बताएका छन् ।
“भागबन्डा गर्दा राम्रो चौटो परिदिए हुन्थ्यो भन्नु स्वाभाविकै हो । सबै निर्वाचन क्षेत्रको अवस्था हेरेर सिट बाँडफाँट गर्न कार्यदललाई जिम्मा दिइएको छ । साथीहरुले काम गर्दै पनि हुुनुहुन्छ । यसबारे अतिरञ्जित कुरा नगरौं, यथार्थमा आधारित भएर बाँडफाँट गरौं । प्रचण्डजीको कुरा वास्तविक होइन । माओवादी केन्द्रलाई ६० सिट दिन सकिँदैन, कांग्रेसले ९० सिटभन्दा तल जाने कुरा गरेको छैन । हामीले त्योभन्दा कम लिने कुरा गरेका छैनौं । ६० प्रतिशतभन्दा कम सिट लिएर पार्टीका साथीहरुलाई कसरी चित्त बुझाउने ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने ।
गठबन्धन दलहरुलाई धेरै सिट छु्ट्याउँदा कांग्रेसको आन्तरिक व्यवस्थापनमा चुनौती थपिने पनि पौडेलले औंल्याए । उनले भने, “गठबन्धन भनेको सामूहिक नेतृत्वको भावनाले चल्ने हो । सामूहिक नेतृत्वमा नै आशा जागृत हुन्छ । एकअर्काप्रतिको त्याग र समर्पणको भावना पनि हुनुपर्‍यो । हाम्रै पार्टीका नेता शेखर कोइरालाले केपी ओलीलाई भेटेको कुरा आएको छ । हामीले योगदान भएका, लोकप्रिय र चुनाव जिताउन सक्ने नेताहरुलाई बेवास्ता गर्‍यौं भने गठबन्धन दलहरुलाई पनि गाह्रो हुन्छ ।” जिल्ला जिल्लाबाट उम्मेदवारीको छानबिन नगरी सबै नाम केन्द्रमा पठाएकाले पनि छनोटमा झन् सकस हुने उनले बताए ।

“टिकट मात्र धेरै लिएर सिट अरुलाई बुझाउने ?”
गठबन्धन दलहरुलाई कांग्रेसको हैसियत अनुसार सम्मान गर्न पनि उनले आग्रह गरे । पौडेलले थपे, “नेपाली कांग्रेस भनेको १६५ सिटमै प्रतिस्पर्धा गर्न सक्ने विशाल पार्टी हो । प्रत्येक वडामा पार्टीपंक्ति छ । कांग्रेसको हैसियत अनुसार सम्मान गर्न जान्नुपर्‍यो । टिकट लिने बेलामा मात्र बल गर्ने, चुनाव हारेपछि कांग्रेसले जिताइदिएन भन्ने कुरा त आउँदैन नि । टिकट मात्र धेरै लिएर सिट अरुलाई बुझाउने हो भने गठबन्धनलाई नोक्सान भएन ? पोलिटिकल विजडमले काम गरौं ।”
कांग्रेसलाई २०७४ को निर्वाचनका आधारमा भागबन्डा गर्न नमिल्ने पनि पौडेलको तर्क छ । उनले भने, “२०७४ मा हामीले नेकपा एमालेकै हाराहारीमै भोट ल्याएका छौं । त्यतिबेला पनि हामी कमजोर होइनौं । केही सय भोटले हारेका हौंला । २०७४ मा दुइटा ठूला पार्टी मिलेर हामीलाई हराएका हुन् । हामीले यथार्थमा आधारित भएर सिट लिनुपर्‍यो । हामीले थोरै मद्दत गर्दाखेरि जित्ने ठाउँमा दाबी गर्नुपर्‍यो । सबैले सबैलाई मदत गर्दाखेरि जित्ने ठाउँ हेर्नुपर्‍यो ।”
धेरै दबाब दिँदा गठबन्धन सफल नहुने चिन्ता पनि उनले प्रकट गरे । पौडेलले भने, “गठबन्धनको औचित्य के हो ? किन चाहिएको हो ? यो कुरा हामीले आत्मसात् गर्नुपर्यो । गठबन्धन दलहरुले सिट मात्र धेरै लिएर अर्को पार्टीलाई फाइदा हुने काम गर्नुभएन । सजिलै जित्ने ठाउँ हेर्नुस् । हामीभित्रै असन्तुष्टि बढ्ने काम नगरौं भनेको छु । समस्या र परिस्थिति बुझेर जाऊँ भनेको छु ।”

“संसद्मा चुनिएर आएपछि मात्र पदीय भागबन्डा”
चुनावभन्दा अगाडि प्रधानमन्त्री, राष्ट्रपति, सभामुख आदि पदीय भागबन्डा नगरिने पनि पौडेलले स्पष्ट पारे । उनले भने, “पदीय भागबन्डा भनेको न्यायोचित हुनुपर्छ । देशलाई कसको आवश्यकता छ ? आम भावना के छ ? कसरी सम्मानजनक हुन्छ ? कमन सेन्सले काम गर्नुपर्छ । पहिले हामी जनताको बीचमा जान्छौं । संसद्मा चुनिएर आएपछि मात्र पदीय भागबन्डामा जान्छौं ।”
कांग्रेसले तपाईंलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाने अवस्था छ भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “मलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाने सम्भावना नभएको होइन । तर यो मैले भन्दा पनि पार्टीका साथीहरुले भन्ने कुरा हो । म तनहुँ–१ बाट लड्ने कुरा स्पष्ट हो । पार्टीका साथीहरुले हाम्रो व्यवस्थापनलाई पनि ध्यान दिनुपर्छ भन्नुभएको छ । म सबै साथीहरुको भविष्य सुरक्षित गरेर अघि बढ्छु ।”
संसद्को कार्यकाल सकिएपछि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग कायम रहने र अतीतको कटुता र घातप्रतिघातलाई बिर्सेर मेलमिलापको भावना अघि बढाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आएको पौडेलेको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्