Logo

राष्ट्रपतिलाई हामी कसैले सिकाइरहनु पर्दैनः केशव बडाल



काठमाडौं, २३ भदौ । नेकपा एमालेका नेता केशव बडालले आगामी निर्वाचनमा माथिबाट गठबन्धन नभए पनि तलबाट आएका सुझावलाई उदारतापूर्वक मनन गर्ने बताएका छन् ।
“माथिबाटै गाँठो-बन्धन गर्ने नेकपा एमालेको कार्यक्रम छैन । तर सिंगो देशभरिभन्दा पनि खास जिल्लाको खास क्षेत्रका लागि तल्लो तलबाट आएका सुझावलाई पार्टी केन्द्रले उदारतापूर्वक लिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने ।
झापा-३ लगायतका क्षेत्रमा के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा बडालले भने, “राष्ट्रियताका सवालमा विगतदेखि निकट रहेका पार्टीसँग के गर्ने भन्नेबारेमा पार्टी निष्कर्षमा पुगिसकेको छैन । त्यस्ता ८–१० निर्वाचन क्षेत्र होलान् । जहाँसम्म झापा–३ को कुरा हो, त्यसमा नेकपा एमालेको झापा जिल्ला कमिटी र प्रदेश १ कमिटीले जे सुझाव दिन्छन्, पार्टी केन्द्रले उदारतापूर्वक लिन्छ ।”
नागरिकता विधेयकमा नेकपा एमाले एउटा नेपाली पनि छुट्नुहुँदैन, एउटा विदेशी पनि छिर्नुहुँदैन भन्नेमा प्रस्ट रहेको उनले बताए । बडालले थपे, “यस विषयमा राष्ट्रको हितमा विवेक पुर्‍याएर काम गर्न राष्ट्रपति स्वयं योग्य र क्षमतावान् हुनुहुन्छ । हामी कसैले सिकाइरहनु पर्दैन । हामीले यो गर्नुस्, त्यो गर्नुस् भन्नु पर्दैन । तर उहाँ संविधान विपरीत जानुहुन्न ।”



प्रतिक्रिया दिनुहोस्