काठमाडौं, २३ भाद्र । नेपालको संसदीय इतिहासमा नेपाली काँग्रेस यस्तो दल हो जसले २०१५ सालको पहिलो आमनिर्वाचनमा प्रतिनिधि सभामा दुई तिहाई सिट जितेको थियो । काँग्रेसका तत्कालीन नेता वीपी कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
पञ्चायतको अन्तपछि बहुदलीय व्यवस्था स्थापना भयो । २०४८ सालको आमनिर्वाचनमा काँग्रेसले बहुमत हासिल गरेको थियो । २०५६ मा पनि काँग्रेसले बहुमत हासिल गर्न सक्यो ।
जनआन्दोलनपछि संविधानसभाको चुनाव भयो । दुईपटकको संविधानसभा निर्वाचनमा काँग्रेस बहुमत हासिल गर्न सकेन । २०६५, २०७० र २०७४ को तीनवटै चुनावमा काँग्रेस अल्पमतमै रह्यो । २०७४ को चुनावमा कम्युनिस्टहरुको गठबन्धनले बहुमत ल्याउन सक्यो ।
२०६५ पछिको निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीमा गयो । कसैको पनि एकल बहुमत नआउने गरी चुनावी प्रणाली विकास गरिएको छ ।
२०७९ को मंसिर ४ मा हुने चुनावमा प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ काँग्रेससहित पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुँने निश्चितप्रायः छ । काँग्रेसले एक सय सिट दाबी गरेको छ ।
सिट बाँडफाँटमा काँग्रेसले अधिकतम ८६ सिट पाउने चर्चा छ । योमध्ये सबैमा जित हासिल गरेपनि काँग्रेसले बहुमत हासिल गर्ने सम्भावना कम छ ।
समानुपातिकतर्फ २०७४ मा काँग्रेसले ४० सिट जितेको थियो । यही अंक कायम रहेपनि काँग्रेसले अधिकतम १२६ सिट प्राप्त गर्छ जुन २७५ सिटको बहुमत पुग्न सक्दैन ।
अहिलेको निर्वाचन प्रणाली र त्यसमाथि गठबन्धनबीच तालमेल हुने भएकाले काँग्रेसको बहुमतको सम्भावना देखिदैन । काँग्रेससहित अर्को दल नमिली बहुमत पुग्ने सम्भावना रहनेछैन ।
संसदमा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । काँग्रेसले कुल १२० सिट ल्याउन सक्यो भनेपनि बहुमतका लागि १८ सिट पुग्दैन । त्यसका लागि उसले गठबन्धनकै दलको भर पर्नुपर्ने हुनसक्छ ।