काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले आफ्नो दल चुनावको लागि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । यद्धपी उनले जिल्ला तहमा कहीँ कतै भोट लेनदेन हुनसक्ने भएपनि राष्ट्रव्यापी रुपमा आफूहरुले गठबन्धन नगरेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीको पनि आलोचना गरे । हिजो नेकपाको अवस्थामा आफ्नै पार्टीका प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न नजाने नेपाल अहिले दिनहुँ बालुवाटार धाउने गरेको उनको भनाई छ ।
उनले भने,‘अहिले माधव नेपाल दिनहुँ बालुवाटारको मेजमानीमा मस्त हुनुहुन्छ । शेरबहादुर देउवाको अतिथि हुनुहुन्छ । अहिले त उहाँलाई त्यो केही परेको छैन । एउटा मान्छे कति नक्कली हुँदोरहेछ, आफ्नो पार्टीको नेता, अध्यक्ष प्रधानमन्त्री हुँदा अनि बालुवाटारमा जान चाहीँ बडो सिकसिको लाग्ने, अप्ठयारो लाग्ने, बालुवाटार आउँदिन भन्ने, ठूला कुरा गर्ने, बहानाबाजी गर्ने, अब आज हेर्नुहोस त, आज उहाँको बास नै बालुवाटारमा भएको छ । उहाँलाई एउटा छुट्टै खाटको व्यवस्था छ भन्ने सुन्दैछु मैले । त्यतै देखिनुहुन्छ उहाँ २४सै घण्टा । एउटा मान्छेले कति नाटक गर्न सक्दो रहेछ ।’