काठमाडौं, २६ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् । उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो ।
लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी गरेको छ ।
लामिछानेलाई अध्यागमन विभागबाट नै पक्राउ गरी अनुसन्धानको पूर्वतयारी भइसकेको छ । उनीमाथि १७ वर्षीया नाबालिगकले बलात्कारको आरोप लगाएकाले त्यसबारे छानबिन हुनेछ ।
लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । तर, १७ वर्षीया नाबालिगकका आफन्तले बलात्कारको आरोपपत्र प्रहरीमा दर्ता गरेका छन् । प्रहरीले अनुसन्धानबाट सिनामंगलस्थित एक होटलको कोठामा ६ भाद्रको विहानीपख बलात्कार भएको प्रमाणका आधारमा अनुसन्धान बढाएको छ ।