काठमाडौँ,२८ भदौ । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो ।
आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।
उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नंका ट्र्याक्टरधनी दाहालविरुद्ध उजुरी दिएको थियो । फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र रु १० लाख ८९ हजार एक सय २६ जरिवाना असुल गरेको थियो । रासस