Logo

‘नेपाल चीनको प्राथमिकतामा छ’



काठमाडौँ, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ ।

पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ ।

पछिल्ला दिनमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम ‘बीआरआई’ को एउटा सदस्य राष्ट्रका रुपमा नेपालले समेत हस्ताक्षर गरेको सन्दर्भमा सम्बन्धमा आयाम पनि नयाँ रुपमा अभिव्यक्त भएको छ ।

पछिल्लो छ महिनाका बीचमा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी, मन्त्रीस्तरीय हैसियतमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओदेखि अध्यक्ष ली सम्मको भ्रमणको श्रृंखला हेर्दा चीनले नेपाललाई महत्व दिएको अर्थका रुपमा लिन सकिन्छ ।

अरनिको राजमार्गको विस्तारदेखि शुरु भएको विकास निर्माणको सहकार्य पछिल्ला दिनमा अझै मुखर रुपमा अगाडि बढेको छ । बीआरआई परियोजनाले ठूला भौतिक पूर्वाधारको सम्बन्ध सेतुलाई अझै विस्तार गरेर लैजाने अनुमान गरिए पनि त्यसमा खास प्रगति हुन सकेको छैन ।

अध्यक्ष ली को भ्रमणका क्रममा यहाँका राजनीतिक नेतृत्व र सङ्घीय संसद्ले समेत यो विषयलाई प्रमुखताका साथ उठाएको छ । सभामुखसँगको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा समेत यस विषयले प्रवेश पाएको छ । सभामुख सापकोटा र अध्यक्ष ली बीच विभिन्न छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौताको एउटा बुँदामा सो विषयले प्राथमिकता पाएको छ ।

नेपाल र चीनले राष्ट्र तथा जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान गर्न सहमति जनाएका छन् । सहयोग सुदृढ गर्न प्रयास गर्ने र दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने अर्को महत्वपूर्ण समझदारी पनि भ्रमणका क्रममा भएका छन् ।

संसदीयमैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्दै साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरी प्रोत्साहन गर्ने, एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने भएका छन् ।

दुई सरकारबीच सहमति भएबमोजिम बीआरआई मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषयलाई समेत आत्मसात् गरिएको छ ।

भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। कोरोना महामारीका समयमा चीन सरकारका तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गरेका थिए ।

दुई देशका जनप्रतिनिधिको शीर्ष नेतृत्वबीच यस्तो खालको द्विपक्षीय छलफल र भेटवार्तालाई पनि ऐतिहासिक घटनाक्रमका रुपमा लिने विश्वास गर्न सकिन्छ । यस्तै त्यसअवसरमा चिनियाँ राष्ट्रपतिले अगाडि सारेको बीआरआईका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो ।

संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ । यस्तै सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको छ । यो आफैमा अर्को महत्वपूर्ण विषयका रुपमा लिन सकिन्छ ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र तथा जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौताको उद्देश्य छ ।

सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास तथा समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनस् पुष्टि गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

राजनीतिक नेतृत्व, सरकार र सङ्घीय संसद्का बीचमा भएको संवाद तथा विचार विमर्शले पनि चीनले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चीन मामिलाका जानकार डा रुपक सापकोटाको भनाइ छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयदेखि चिनियाँ नाका बन्द भएको तथा बीआरआईको कार्यान्वयनमा जटिलता पैदा भएको विषयलाई प्रमुखताका साथ उठाएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्