Logo

जसले छोराको नाम नै ‘जय नेपाल’ राखेका थिए



काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेस, पाल्पाका नेता एवं वरिष्ठ चाटर्ड एकाउन्टेन्ट विजयराज घिमिरेको ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समय आन्द्राको क्यान्सरपीडित घिमिरेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा हिजो बेलुकी भएको निधनले नेपाली कांग्रेसलाई मात्र नभई सिंगो देशलाई नै अपुरणीय क्षति भएको नेपाली कांग्रेस, पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।

“विजय घिमिरे पाल्पामात्र होइन देशकै बौद्धिक नेता हुनुहुन्थ्यो । घिमिरे २०४६ सालको जनआन्दोलनमा पूर्वी पाल्पाको कमान्डर हुनुहुन्थ्यो । फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गर्ने क्रममा उहाँको गोली हानी हत्या गर्ने प्रयास गर्दा उहाँका दाइ सूर्य घिमिरे सहिद हुनुभयो । उहाँलाई हामीले जिउँदो सहिद मान्दै आएका थियौं । पाल्पाको राजनीतिक, सामाजिक र आर्थिक विकासमा उहाँको योगदान अतुलनीय छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।

युवावस्थामै विद्यार्थी र पछि कांग्रेसको राजनीतिमा सक्रिय घिमिरे २०५६ सालमा प्रतिनिधिसभाका उम्मेदवार टंकनाथ काफ्लेको निधन भएपछि पाल्पा-१ को उम्मेदवार बनेका थिए भने ०७४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए । उनले झीनो मतान्तरले हार्नुपरेको कांग्रेस जिल्ला सभापति श्रेष्ठले सुनाए । नेपाल बीमा संस्थानको महाप्रबन्धक समेत रहिसकेका घिमिरेको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कारको कार्यक्रम छ ।

रामपुर नगरपालिका–७, भम्बकमा २०२५ सालमा जन्मिएका घिमिरे जनमत संग्रहका बेलादेखि राजनीतिमा सक्रिय थिए । नेविसंघको जिल्ला सचिव, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव, नेपाली कांग्रेसको जिल्ला सचिव भएर काम गरेका उनले छोराको नाम नै जय नेपाल राखेका थिए । घिमिरेका आमा, श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

 



प्रतिक्रिया दिनुहोस्