काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आफ्नो पार्टी ९० सिटको वरपर निर्वाचन लड्न तयार रहेको बताएका छन् । “गठबन्धनमा सिट मिलाउनै नसक्या होइन, मिल्नतिर गइरहेको छ । धेरै दगल्चिसकेको छ । अब केही दिनमा समानुपातिकको बन्दसूची टुंगो लगाएपछि सिटको छिनोफानो लाग्छ । नेपाली कांग्रेस ९० वरपर, माओवादी केन्द्र ५०, अरु पार्टी २० सिटमा पुगेका छन् । २०–२५ सिटमा विवाद छ र त्यो पनि मिल्छ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पौडेलले भने ।
“१६५ सिटमा लड्ने पार्टीले १०० सिट लिनु स्वाभाविक हो”
नेपाली कांग्रेसमा गठबन्धनको विरोध कसैले नगरेको पनि पौडेलले औंल्याए । उनले भने, “पार्टीभित्र डा. शेखर कोइराला, गगन थापाले गठबन्धन गर्नुहुन्न भन्नुभएको छैन । हरेक बैठकमा समर्थन गर्नुभएको छ । बाहिर पनि भन्नुभएको छैन । जिम्मेवारी लिनु नपर्नेले लोकप्रिय कुरा गर्छन् । तर गठबन्धन चुनावअघि मात्र होइन, चुनावपछि पनि गठबन्धन हुन्छ ।”
कांग्रेसले गठबन्धनमा १०० सिट लिनु स्वाभाविक भएको उनले बताए । पौडेलले थपे, “नेपाली कांग्रेसको विशाल कार्यकर्ता पंक्ति छ । कांग्रेसलाई १०० सिट चाहिन्छ भन्ने साथीहरुको भनाइ जायज हो । किनभने नेपाली कांग्रेस १६५ सिटमा लडेको पार्टी हो । साथीहरुको भावना र आवश्यकतालाई पनि मिलाउनुपर्यो ।”
“कांग्रेस कम्युनिस्टको चंगुलमा फस्दैन”
गठबन्धनका नाममा नेपाली कांग्रेस कम्युनिस्टको चंगुलमा नफसेको दाबी वरिष्ठ नेता पौडेलले गरे । उनले भने, “यो कम्युनिस्टप्रति प्रेम जागेको होइन, देशको आवश्यकता हो । बीपी कोइरालाले नै राष्ट्रिय एकता र मेलमिलाप नीति लिनुभएको हो । तर अहिले ७० प्रतिशत मतदाता कांग्रेससँग हुनुपर्थ्र्यो । तर अवस्था रहेन । कांग्रेस कम्युनिस्टको चंगुलमा फस्ने कुरै छैन । कम्युनिस्टलाई प्रजातान्त्रिक बाटोमा हामीले ल्याएको हो ।”
आफूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सौदाबाजी नगरेको पनि उनले बताए । पौडेलले भने, “शेरबहादुरजीसँग मेरो कुनै सौदाबाजी भएको छैन । महाधिवेशनका बेला उहाँले स्वास्थ्य राम्रो राखेर बस्नोस्, देशलाई तपाईंको आवश्यकता छ भन्नुभयो । त्यो भनेको के हो भनेर म सोध्न गएको छैन । म नलडेका हुनाले उहाँलाई सजिलो भएको हो । मैले उहाँलाई सहयोग गरेको होइन ।”
“मैले कुनै पदलाई महत्त्व दिएको छैन”
तपाईंको प्राथमिकता राष्ट्रपति हो कि प्रधानमन्त्री हो, भन्ने प्रश्नमा नेता पौडेलले भने, राष्ट्रपति हुने कि प्रधानमन्त्री हुने भनेर मलाई प्रश्न नगर्नुस् । मैले प्रधानमन्त्री वा कुनै पदलाई महत्त्व दिएको छैन । मैले पद रोजेर राजनीति गरेको होइन । म १४ वर्ष जेल बसेको हुँ । देशको आवश्यकता के हो ? देशलाई नैतिक सामर्थ्र्य भएको राजनीतिक नेतृत्व चाहिएको छ ।
तपाईंले १७ पटकसम्म प्रधानमन्त्री हुन नसक्नुभएको होइन भन्ने अर्को प्रश्नमा पौडेलले भने, “म सत्ताभन्दा पनि व्यवस्थाको पक्षमा छु । मैले प्रधानमन्त्री चुन्ने राजनीतिक प्रक्रियामा भाग लिएको छु । तर मलाई अनुकूल मिलेन । मैले एक पटक मात्र दरखास्त दिएको हो । १७ पटकसम्म किन चुनाव गराएको जालसाजी बनाउने सभामुख हो । कसैसँग जितेको छैन । मैले हारेको छैन ।”
देउवा पाँच चोटि प्रधानमन्त्री हुनुभयो, तपाईं किन हुन सक्नुभएन भन्ने प्रश्नमा उनले भने, “देउवाजीसँग मात्र म हारेको होइन । देउवाजी पनि मसँग पराजित भएको हो नि । अबको प्रधानमन्त्री को बन्ने भन्ने बारेमा मैले भन्ने कुरा होइन, अरु मान्छेले भन्ने कुरा हो ।”
“गोविन्दराज जोशी एमालेमा गइसक्नुभयो”
गोविन्दराज जोशी कांग्रेसबाट उछिट्टिएर एमालेमा गइसकेको आरोप पनि उनले लगाए । पौडेलले भने, “मैले सहकार्य गर्न चाहँदाचाहँदै उहाँ मलाई हराउन लाग्नुभयो । म उहाँलाई हराउन कहिल्यै लागिनँ ।”
आफू तनहुँ-१ बाट लड्ने पनि उनले बताए । पौडेलले भने, “किसान श्रेष्ठको व्यवस्थापन माधव नेपालले गर्नुहुन्छ । म तनहुँ-१ बाट लड्छु । यसलाई अन्तिम पनि नभन्नुस् । मेरो मिसन पूरा भएको छैन । गाउँमा आम्दानी र देशमै रोजगारी व्यवस्था गर्न बाँकी छ ।” तनहुँका ६ सिटमध्ये कांग्रेस ४ वटामा लड्ने र सबै जित्ने पनि पौडेलको दाबी छ ।