काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता एवं सासद सञ्जयकुमार गौतमले प्रतिनिधिसभाको साढे चार वर्षको कार्यकाल सफल रहेको टिप्पणी गरेका छन् । “हामी सांसद असफल भएका होइनौं । समय र परिस्थिति सोचेअनुसार काम मात्र नभएको हो । हामीले सकारात्मक भूमिका नै निर्वाह गरेका छौं । तर हामीलाई अपराधी जसरी अतिरञ्जित प्रचार गरिएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।
नेपाल हल्लै हल्लाको देश भएको पनि उनले टिप्पणी गरे । गौतमले भने, “कतिपय राजनीतिक दलका मित्रहरुले जनतामा एमसीसीका सकारात्मक कुरा लैजानुभएन । नकारात्मक कुरा मात्र गर्नुभयो । त्यो मुलुकको हितका लागि थियो । इन्डो प्यासिफिक रणनीतिअन्तर्गत अमेरिका सेना आउँछ भनेर हौवा फिँजाइयो । अहिले नागरिकता विधेयकमा अपव्याख्या गरिएको छ । त्यही कानुन केपी ओलीले गर्दा हाई हाई भयो । राष्ट्रपतिले तत्काल सदर गर्नुभयो । एक हातमा नागरिकता र अर्को हातमा सिन्दूर कहाँ भनेको छ ? यो हल्लै हल्लाको देश हो । कानले काग लग्यो भनेर कुदेको छ, आफ्नो कान छामेको छैन ।”
महामारी जुध्ने र स्थानीय तहको निर्वाचन गराउने काममा सरकार सफल भए पनि सुशासन दिन नसकेको पनि उनले स्वीकारे । उनले भने, “यो सरकारले पनि सोचेजस्तो गर्न सकेन । व्यवस्था फेरियो र प्रवृत्ति फेरिएन । हामीप्रति जनतामा वितृष्णा छ । युवा पुस्ता खुसी छैन । हामी व्यक्तिगत विकासमा मात्र लाग्दा विकृति आएको हो । मुलुक कसैको मौजा हो र ? बपौती हो र ?”