काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नजरबन्दमा नराखिएको दाबी गरेका छन् । “नजरबन्द कहाँ छ ? मैले त थाहा पाएको छैन । उहाँको निलम्बन फुकुवा भएको छैन । यस्तो अवस्थामा अदालत जान्छु, कुर्सीमा बस्छु भन्नु अवान्छनीय हो । बार र बेन्चले मान्दैन । दोहोरो भिडन्त होला भनेर प्रहरी प्रशासन चनाखो भएको होला,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
वडावडामा सरकार पुग्नु संविधानकै उपलब्धि भएको पनि उनले औंल्याए । उनले भने, “कुनै बंगाली कविले भनेका थिए- ‘जनता आ रही है कोटि सिंहासन खाली करो ।’ जनताले वडावडामा सिंहासन पाएका छन् । साधन र स्रोत पुगेको छ । यो कम उपलब्धि होइन ।”
अर्को प्रसंगमा उनले सबैलाई न्याय हुने किसिमले समानुपातिक सूची बन्ने पनि औंल्याए । पौडेलले भने, “समानुपातिक सूचीमा कसलाई राख्दा न्याय हुन्छ भनेर साथीहरुले काम गरिरहनुभएको छ । साथीहरुले पक्कै पनि विवेक पुर्याइरहनु भएकै होला । नयाँ र पुरानोभन्दा पनि योग्य र पार्टीमा योगदान गरेका साथीहरु समेटिनुहुन्छ ।”
नेपाली रेडियो नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा उत्तरोत्तर सफलताका निम्ति बधाई र शुभकामना दिँदै उनले सरकारलाई घचघच्याउने र सचेत बनाउने काम गरिरहन सुझाव दिए ।