Logo

संविधान दिवसको अवसरमा डडेल्धुराका ९ जना विभूषित



डडेल्धुरा,असोज, ३ । सरकारले संविधान दिवसको अवसर पारेर करिब १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ। यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको हो।

यस्तै डडेल्धुरामा कार्यरत कर्मचारी, जिल्लामा स्थायी बसोबास रहेका समाजसेवी, शिक्षक र कलाकार गरी ९ जना विभूषित हुने भएका छन्। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ।

यस्तै अभिनेता भोजराज (विराज) भट्टलाई पनि सोही पदकबाट विभूषित गरिने संविधान दिवसको अवसर पारेर सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु, गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङ र सिद्धनाथ मावि जोढबुढाका प्रधानाध्यापक पदमराज जोशीलाई पनि सोही पदक प्रदान गरिने भएको छ।

यस्तै अमरगढी नगरपालिका वडा नम्बर ९ का समाजसेवी लक्ष्मणबहादुर साउद र डडेल्धुराकै तेजराज भण्डारीलाई भने जनसेवाश्री प्रदान गरिने छ। राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय डडेल्धुराका प्रमुख अनुसन्धान अधिकृत हरिषकुमार बिष्टलाई राष्ट्र सेवा पदक प्रथम श्रेणी र गणेश माविका प्रधानाध्यापक सुरेन्द्रबहादुर कार्कीलाई शिक्षा ज्योती पदक प्रदान गरिने भएको छ।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ। राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्