Logo

राष्ट्रपतिले राजीनामा गरे गठबन्धनका नेताहरू लुकेर बस्नुपर्ने दिन आउँछः एमाले नेता



काठमाडौं, ६ असोज । नेकपा एमालेका नेता कर्ण थापाले गठबन्धन दलहरूले संविधान बमोजिम राष्ट्रपतिलाई प्राप्त अधिकारको अपमान गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि केही नियोजित मान्छेको विरोध होला । तर आम जनताले स्वागत गरेका छन् । राष्ट्रपतिले जनभावनाको सम्मान गर्नुभएको छ । राष्ट्रपतिको कदम संविधान बमोजिम छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने ।
संसद्को अवधि सकिएपछि नागरिकता विधेयकको सान्दर्भिकता स्वतः समाप्त भएको उनको टिप्पणी छ । थापाले थपे, “संविधानको धारा ११३ (३) ले स्पष्ट व्यवस्था गरे बमोजिम राष्ट्रपतिले पुनर्विचारका निम्ति १५ बुँदा पठाउनुभयो । ५० जनाले संशोधन प्रस्ताव हालेका थिए । त्यसमा छलफलै नगरी राष्ट्रपतिको अपमान हुने गरी जस्ताको तस्तै पठाइदिए । बलजफ्ती गर्नु गलत थियो ।”
नागरिकता विधेयक जन्मसिद्ध नेपालीलाई अल्पमतमा पार्ने गरी अरुको इशारामा आएकाले राष्ट्रघाती भएको उनको जिकिर छ । उनले भने, “राष्ट्रपतिलाई धम्काएर तर्साएर दबाबमा राखेर काम गर्न खोजेका थिए । त्यो अभीष्ट पूरा भएन । गठबन्धनले अनेक षडयन्त्र र जालझेल गरेको छ । अब यो सडक, घरघर, जनजनको मुद्दा बन्नुपर्छ ।”
राष्ट्रपति चुनाव चाहनुहुन्न, चुनाव सारेर शेरबहादुर देउवाको सरकार ढाल्न चाहनुहुन्छ भन्ने चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले नेता थापाले, “निर्वाचन घोषणा भइसकेको छ । समानुपातिक बन्दसूची बुझाइएको छ । शेरबहादुरको सरकारलाई ढाल्नुपर्छ अब ? अब तानाशाही, घटिया, जनता विरोधीहरुको पत्तासाफ हुनेवाला छ । एमालेले बहुमत ल्याउँछ र खुला ढोकाबाट सिंहदरबार पस्छ ।”
राष्ट्रपतिले राजीनामा गरे के होला भन्ने अर्को प्रश्नमा थापाले भने, “राजीनामा गर्ने कि नगर्ने, राष्ट्रपतिको विषय हो । तर राष्ट्रपतिले राजीनामा गरे यिनीहरु लुकेर बस्नुपर्ने अवस्था आउँछ ।”



प्रतिक्रिया दिनुहोस्