Logo

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द



काठमाडौँ,७ असोज । बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर बोहराले बताए ।

यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो । बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु हुन केही दिन लाग्नसक्ने जनाएको छ । विद्युतीय राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्