Logo

पुर्वप्रधानमन्त्री भट्टराईद्वारा पर्यटनमन्त्री श्रेष्ठको चुनावकेन्द्रित प्रचार कार्यालय शुभारम्भ



काठमाडौं, २६ असोज। काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा बाम लोकतान्त्रिक गठबन्धनले प्रचारप्रसार समितिको कार्यालय स्थापना गरि चुनावकेन्द्रित अभियान सुरु गरेको छ । नागार्जुन-४ स्थीत बाफलमा प्रचार कार्यालय शुभारम्भ गरी चुनावकेन्द्रित अभियान सुरु गरिएको हो ।

निर्वाचन प्रचारप्रसार समितिको कार्यालय शुभारम्भ गर्दै पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । पुर्व प्रधानमन्त्री भट्टराईले प्रतिक्रान्ति विरुद्ध निर्माण भएको बाम लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक रहेको बताउनुभयो ।

दलविरुद्ध ‘स्वतन्त्र उम्मेदवारी’ दिने प्रवृतिप्रति टिप्पणी गर्दै उहाँले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्र विरोधी प्रवृति रहेको बताउनुभयो । एक राजनीतिक दलको विकल्प अर्को पार्टीमात्र हुने बताउनुहुँदै भट्टराईले पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधर र लोकतन्त्र विरोधीको छुट्टा-छुट्टै गठबन्धन बनेको बताउनुभयो ।

देश, संविधान र लोकतन्त्र जोगाउन बाम लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने श्रेष्ठको भनाइ छ । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नं ८ (ख)का उम्मेदवार अमिन पाण्डेयले संविधानको रक्षा गरि प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताउनुभयो । प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताउनुभयो । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनको तयारीमा दलहरु सक्रिय हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्