Logo

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङलाई जिताउन निश्चल बस्नेतदेखि युवा व्यवसायी राणाको अपिल



काठमाडौं, २७ असोज । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । गुरुङ पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा छन् । उनले परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

गुरुङले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेका हुन् ।  मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको उनको आरोप छ । आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने पनि उनले आफ्नो योजना सुनाए । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएको उल्लेख गदै नेपाललाई किन पर्यटनमा सवल नबनाउने भनेर प्रश्न गरे । उनले आफूहरुले देशको पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने पनि सुनाए ।

दक्षिण एशियामा नेपालमा नै सबैभन्दा पहिले बार, रेष्टुराँको कल्चर सुरु भएको सुनाए । उनले नेपालको गाँजालाई विश्व बजारमा लैजानुपर्नेमा जोड दिए । उनले आफूहरुले संसद्मा यसको आवाज उठाउनेपनि बताए । उनले आफूहरुलाई राजनीति गर्न नआउने भएपनि काम गर्न भने आउने बताए । उनले आफूहरुसँग मुख्य कुरा भनेको काम गर्ने उर्जा हुनुलाई बताए ।

सो क्रममा कलाकार निश्चल बस्नेतले आफूले राजनीतिमा चासो राख्ने गरेको तर राजनीतिबारे केही पनि नबुझेको सुनाए । उनले श्रीको जितको लागि अग्रिम शुभकामना दिए । उनले श्रीमा केही गर्ने सम्भावना देखेकोले आफूले समर्थन गरेको सुनाए।

उनले भने,”श्री दाईले नचाहिँदो काम चाहीँ गर्नुहुन्न । जुन दिन उहाँले नराम्रो काम गर्नुहुन्छ, त्यो दिन म उहाँलाई गाली गर्छु ।” उनले राजनीतिमा धेरै सपना देखाएको सुनाए तर कसैले पनि केही नगरेको गुनासो पोखे ।

अहिलेपनि केही दलका नेताहरुले जन्मनेबित्तिकै पाउने सुविधा पुर्याउछु भनेर भन्ने गरेको भन्दै आक्रोश पोखे । उनले घरघरमा पानी पुर्याउने, विजुली पुर्याउँछु भन्ने कुरा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताए ।

उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा दलीय वा स्वतन्त्र रुपमा पनि केही गर्छु भनेर नयाँ सोचका साथ चुनावी मैदानमा आएकाहरुलाई सघाउनुपर्ने बताए ।

यस्तै, युवा उद्यमी कोलिन विक्रम राणाले पनि श्रीको जितको लागि अग्रिम शुभकामना दिए । उनले श्री गुरुङ नेपाली हिपहप संगितमा ठूलो योगदान दिएको स्मरण गराए । श्रीको उम्मेदवारीले राजनीतिमा लाग्ने युवाहरुको लागि सकारात्मक उर्जा प्राप्त भएको बताए । उनले श्री गुरु सदनमा पुग्दा धेरै नै सकारात्मक परिवर्तन हुने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्