काठमाडौं, असोज २८ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ। समानुपातिक निर्वाचनतर्फ ४ करोड मतपत्र छापेको आयोगले प्रत्यक्षतर्फ पनि त्यत्तिकै संख्यामा मतपत्र छाप्न थालेको हो।
प्रत्यक्षतर्फका उम्मेदवारलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको आयोगले बिहीबारदेखि मतपत्र छाप्न सुरु गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए। उनका अनुसार आयोगले प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रका लागि ४९५ प्रकारका मतपत्र छाप्नेछ। प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि फरकफरक डिजाइनमा ४ करोड मतपत्र छापिने आयोगले जनाएको छ।
आयोगले कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छाप्ने जनाएको छ। यस आधारमा १ करोड ९७ लाख ८७ हजार ४ सय २७ मतपत्र छाप्नुपर्छ। प्रदेश र प्रतिनिधिसभाका लागि यसको दोब्बर मतपत्र छाप्नुपर्ने हुन्छ। मंसिर ४ मा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मतदान गर्न पाउनेछन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार संख्याका आधारमा मतपत्र छापिनेछ।
प्रवक्ता पौडेलले प्रतिनिधिसभा समानुपातिकतर्फका लागि एकै आकार र प्रकारका मतपत्र र प्रदेशसभा समानुपातिकतर्फ छुट्टाछुट्टै सात प्रकारका मतपत्र छापिएको छ। निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि पनि समानुपातिकतर्फ मतदानको व्यवस्था गरिएकाले थप मतपत्र छाप्नुपर्ने भएको छ।
नेपाली सेनाको सुरक्षामा भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ।