Logo

विष्णु पौडेलको दबाबमा निर्वाचन आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको डा. निकोलस भुसालको आरोप (भिडिओसहित)



काठमाडौं, २८ असोज । सरकारी छात्रवृति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपक्ति जनाएका छन् ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर डा. भुसालले आफूले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।

भुसालले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेर आफू समाजसेवा हुँदै राजनीतिमा होमिएको बताए । देश बनाउने उद्देश्यले आफूले एक वर्ष अघि त्रिभुवन शिक्षण अस्पतालको जागिर छाडेको सुनाए ।

भुषालले एक महिनाअघि उम्मेदवारी घोषणा गरेको सुनाउँदै छात्रवृत्तिबारे आफूमाथि कसुर लगाउँदै छ भन्ने बारेमा कसैले सुनाएको बताए ।

उनले भने,‘विष्णु पौडेलले आफ्नै पार्टीका २ जना कार्यकर्ता लगाएर उजुरी हालिएको हो ।’ निर्वाचन आयोगले तपाईको उम्मदेवारी सदर हुन्छ भनिएपनि मध्यरातमा आएर बदर गरेको उनले गुनासो पोखे ।

आयोगको उक्त कदमविरुद्ध आफूले आजमात्र सर्वोच्च अदालतमा रिट दिएको उनले जनाए । उनले आफूले टिचिङ अस्पतालमा एमबीबीएसको छात्रवृत्ति पाएको सुनाए ।

रातारात षड्यन्त्र गरेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको आपक्ति जनाउँदै उनले आयोगले उम्मेदवारी खारेज गरेर आफ्नो मौलिक अधिकार हनन गरेको टिप्पणी गरे । उनले भने,‘मैले उम्मेदवारी दिन पाइनँ भने पनि जनतालाई गरेका वाचा जसरी पनि पुरा गर्नेछु । न्याय पाएमा देशको लागि आफैले गर्नेछु र नपाए अन्य व्यक्तिहरुमार्फत पनि जनतालाई दिएको कामको वचन पुरा गर्नेछु ।’

हाम्रो नेपाली पार्टीको अध्यक्ष ई.अनन्तराज घिमिरेले डा. निकोलसमाथि राज्यले अन्याय गरेको टिप्पणी गरेका छन् । देशको एक नागरिकले छात्रवृत्ति लिएकै भरमा अयोग्य उम्मेदवार बनाइएकोमा उनले आपक्ति जनाए ।

विद्यार्थीले आफ्नो क्षमताको आधारमा पाएको छात्रवृत्ति लिँदैमा विद्यार्थीबाट कुनै अपराध नहुने उनले तर्क गरे । उनले आगामी मंसिरमा हुने निर्वाचनमा सबैलाई ‘लौरो’ चिन्हमा मतदान गर्न आग्रह गर्दै बालुवाटार र देश बेच्नेहरुलाई मतदान नगर्न सबैमा आह्वान गरे ।

उनले सबै ३ करोड नेपालीहरुबाट न्याय चाहेको बताउँदै देशभित्र र बाहिर भएका नेपालीहरुले आवाज निकाल्नुपर्ने स्पष्ट पारे ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार दिनेश खनालले डा. निकोलसको जित निश्चित् भइसकेपछि उनीमाथि राष्ट्रले दमन गरेको आरोप लगाएका छन् । राज्यले डा. निकोलसविरुद्ध दमन गरेपछि आफू मिडियामा आउन बाध्य भएको उनको भनाई थियो ।
मनोचिकित्सक डा.भुषाल राष्ट्रकै राम्रो व्यक्ति र भूमिपुत्र भएको समेत उनले बताए । खनालले राष्ट्र बेच्ने नेतालाई जिताउन निकोलसको उम्मेदवारी रद्द गराइएको आरोप लगाए ।

आगामी चुनाव अघि र पछि पनि वैकल्पिक शक्ति र स्वतन्त्र शक्तिहरु एक हुने बताए । देशको नीति र नियम बनाउन स्वतन्त्र व्यक्तिहरुलाई जिताउनै पर्ने उनले धारणा राखे ।

यसैगरी, स्वतन्त्र उम्मेदवार डा. अर्चन शमशेर राणाले स्वास्थ्य, शिक्षा र युवाको रक्षाको लागि उदाहरणको रुपमा डा.निकोलस उभिएको बताएका छन् । नेपाललाई आवश्यक नेतृत्वको उपयुक्त उम्मेदवार उनी भएको राणाले दाबी गरे ।

भुषाललाई नचाहिदो आरोप लगाएर उनको उम्मेदवारी खारेज गर्न खोजिएको राणाले आरोप लगाए । सरकारको उक्त गलत कदमविरुद्ध सबै नेपाली बोल्नुपर्ने भन्दै उनले डा.निकोलसको समर्थन गर्नसमेत देशभरका सम्पुर्ण नागरिकलाई आह्वान गरे ।

त्यस्तै, डा.निकोलस भुसालको सचिवालय सदस्य मधुप्रसाद अर्यालले डा.भुषालको उम्मेदवारी रद्द नहुनेबारे अझैपनि आफू आशावादी रहेको बताएका छन् । उनले भने,‘एमालेका नेता विष्णु पौडेलले आफूले जितेको क्षेत्रमा जनताले डा.निकोलस भुषालको नाम मात्र लिएको देखेपछि उहाँलाई निकोलसको नाम लिएको सह्य भएन र निकोलसलाई दबाउन आफ्नो पावर सो गरेर त्यस्तो कुचेष्टा गरिएको हो । निकोलसको व्यक्तित्व देखेर उहाँलाई दबाउन निवेदन हलियो र खारेजीको प्रक्रिया अगाडी बढाइयो ।’

उनले निकोलसलाई सम्बन्धित निकायले न्याय दिनैपर्ने टिप्पणी गरे । सो क्षेत्रका जनताले ‘हाम्रो उम्मेदवार खोइ’ भन्दै धर्ना कार्यक्रम गरीररहेको उनले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवार डम्बर साउदले राजनीतिमा सक्षम युवाहरु आइरहँदा विष्णु पौडेलहरु हल्लिरहेको टिप्पणी गरेका छन् । डा.भुषालको उम्मेदवारी रद्द गरेसँगै निर्वाचन आयोगका अधिकृत मोवाइल अफ गरेर बेपत्ता भएको सुनाए ।

नेताका नजिकका अधिकृतले लाचारीपना देखाएको उनले आरोप लगाए । स्वतन्त्र उम्मेदवारहरुलाई अहिले नेताहरुले चौतर्फी आक्रमण गर्न सक्ने उनले बताए । निकोलसलाई माया दयाले नभई क्षमता हेरेर सरकारले छात्रवृत्ति दिएको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्