Logo

गठबन्धनका कारण कांग्रेसका दलित नेताले प्रत्यक्षमा उम्मेदवारी दिन पाएनन्ः जीवन परियार



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीमा बागी विद्रोही उठ्ने रोग पुरानै भए पनि अन्यमा पनि सल्किएको बताएका छन् ।

‘कांग्रेसमा बागी विद्रोही उठ्ने रोग अलि पुरानै हो । यसपालि अलि बढी नै हो कि भन्ने छ । मंसिर ४ का लागि अहिले पनि समय छ । हामीले बागी विद्रोही उम्मेदवारहरुलाई नाम निष्क्रिय गराउन असोज ३१ सम्म समय दिएका छौं । हामीले सम्झाउने, बुझाउने, मनाउने काम गरिरहेका छौं । अरु दलले पनि गरिरहेको होलान्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै परियारले भने । बागी उम्मेदवार, उसका प्रस्तावक र समर्थकलाई पाँच वर्षे कारबाही हुने पनि उनले औंल्याए ।
पाँच दलीय गठबन्धनका कारण प्रतिनिधिसभामा कांग्रेसका नेताले कुनै पनि क्षेत्रमा टिकट पाउन नसकेको सहमहामन्त्री परियारले बताए । उनले थपे, ‘मेरो नाम कास्की १ बाट सिफारिस भएर आएको थियो । गठबन्धनका कारण म समानुपातिकमा बस्नुपर्‍यो । गठबन्धनका कारण सुनसरी १ मा मीन विश्वकर्माले टिकट पाउनुभएन । बझाङमा प्रकाश स्नेहीले पाउनुभएन । सिन्धुपाल्चोकमा शिव सुनारले पनि पाउनुभएन । यस्ता थुप्रै उदाहरण छन् ।’
आफूले संसदीय बोर्डमा दलित नेताहरुको नाम सिफारिस भएर ठाउँमा घन्टौं बहस गरेको पनि उनले सुनाए । निरन्तरतामा नवीनता दिने हिसाबले पार्टीको घोषणापत्र ल्याउने पनि परियारले बताए ।



प्रतिक्रिया दिनुहोस्