ओखलढुंगा, ३० असोज । संसदीय निर्वाचनको प्रचारप्रसार गठबन्धनले संघीय र राजधानी र प्रादेशिक भेलाबाट तयारी थालेका छन् । शनिबार काठमाडौंमा भएको भेलापछि जिल्लाका उम्मेदवार तथा नेता कार्यकर्ता आइतबार इटहरीमा प्रादेशिक भेलामा जुटेका हुन् ।
उनीहरुले ओखलढुंगामा जन्मेर पेशाका शिलशिलामा प्रदेश राजधानी विराटनगर तथा आसपासका जिल्लामा पुगेका पार्टीहरुका मतदाता तथा कार्यकर्ताहरुसँग भेटघाट तथा सुझाव लिएका छन् ।
इटहरीमा कार्यक्रम सकेर उम्मेदवार तथा नेताहरु जिल्लाको कार्यक्रममा आउने तयारी भएको गठबन्धनको चुनाव प्रचार समितिले जनाएको छ । जिल्ला बाहिर रहेका मतदाता र शुभेच्छुकसँगको छलफलले चुनावी माहौल बनेको छ । यसले उम्मेदवार तथा गठबन्धनका नेताहरु उत्साहित छन् ।
ओखलढुंगामा गठबन्धनबाट संघ तर्फ काँग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा, प्रदेशतर्फ ‘क’ मा काँग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवार तथा ‘ख’ तर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम चुनावी मैदानमा छन् । गठबन्धनमा काँग्रेस माओवादी सहित नेकपा एस पनि सहभागी छ ।