Logo

मन्त्री नभए पनि जनताको सेवा गरेको छुः राजेन्द्र राई



काठमाडौं, ३१ असोज । नेकपा एमालेका नेता एवं धनकुटाबाट प्रतिनिधिसभामा उम्मेदवार राजेन्द्र राईले निरन्तर जनताको सुखदुःखमा साथ दिएकाले आफ्नो जितमा ढुक्क भएको बताएका छन् ।
‘मैले ५ वर्षमा गरेको कामबाट जनता उत्साहित छन् । धनकुटामा राष्ट्रिय गौरवका आयोजना मात्रै ५ वटा परेका छन् । पहिले जनताको आय ४ सयदेखि ६ सय थियो । अहिले ७ सयदेखि हजार पुगेको छ । ५ वर्षभित्र १ हजारदेखि १५ सयसम्म पुर्याउनुपर्छ । हिजो गरिबी १८ प्रतिशत थियो । अहिले १३ प्रतिशतमा झरेको छ । अब ७ प्रतिशतमा झार्छु । मैले १०, १२ हजारभन्दा बढी मतान्तरले जित्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले भने ।
पाँच दलीय गठबन्धनका उम्मेदवार सुनीलबहादुर थापा ‘टुरिस्ट’ उम्मेदवार भएको आरोप पनि उनले लगाए । राईले थपे, ‘प्रतिद्वन्द्वी सुनीलबहादुर थापाका बाबु पाँच चोटि प्रधानमन्त्री भए । उनी आफैं दुईचोटि मन्त्री भए । उनी टुरिस्ट हुन् । धनकुटामा उनको घरै छैन । उनको गाउँमा मैले हाइस्कुल र बाटो बनाइदिएको छु । अहिले उनी त्यही बाटोमा गाडी चलाएर हिँडेका छन् । आफू सिन्को नभाँच्ने, अहिले ठूला कुरा गर्ने ? ५ दलीय त के, १० दलको गठबन्धन भए पनि केही अर्थ राख्दैन ।’
उनले आफू मन्त्री नभए पनि जनताको सेवा गरेको दाबी गरे । राईले भने, ‘मन्त्री प्राविधिक कुरा हो । मन्त्री नभए पनि मैले जनताको सेवा गरें । मलामी गएँ । जनताको स्वास्थ्य उपचारमा लागें । मेरा कारण घरघरमा टेम्पो पुगेका छ, वडावडामा गाडी पुगेको छ । शीतभण्डार बनाएका छौं । जनताको प्रिय पार्टी एमाले हो, त्यसको नेतृत्व मैले गरेको छु ।’ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई आफूले नउठाएको दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्