काठमाडौं, ३१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं पाँच दलीय गठबन्धनबाट धनुषा ३ का उम्मेदवार अनिल झाले आफूलाई टुरिस्ट भन्न नमिल्ने दाबी गरेका छन् ।
‘अन्तिम अवस्थामा लोसपाको सत्ता गठबन्धनसँग तालमेल भयो । म आफू निर्वाचित भएको रौतहट १ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिन चाहन्थें । तर त्यहाँ माधवकुमार नेपालले पहिले नै लड्ने घोषणा गरेकाले म लोसपाले नै जितेको धनुषा ३ मा आएँ । तर म यहाँ आफूलाई टुरिस्ट उम्मेदवार ठान्दिनँ । म मधेस, मधेसी र मधेसवादका लागि ३५ वर्षदेखि काम गरेको नेता हुँ । मेरी श्रीमती पनि यहींकै हुन् । उनी प्रदेश मन्त्री हुँदा मैले यहाँ धेरै काम गरेको छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने ।
धनुषा ३ मा गठबन्धनको जित सुनिश्चित भएको उनको दाबी छ । झाले भने, ‘स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा गठबन्धनभित्र ७० प्रतिशत मत छ, गठबन्धनबाहिर ३० प्रतिशत मात्र छ । २०७४ मा विजेता राजेन्द्र महतो र उपविजेता विमलेन्द्र निधिको मत जोड्ने हो भने ९५ प्रतिशत हुन जान्छ । त्यसैले अनिल झालाई जित्न गाह्रो नहोला । म आशा, भरोसा र अपेक्षा राखेर नै उठेको हुँ ।’
सिँचाइ, कृषि र शिक्षाका समस्या समाधान गर्न आफू लागिपर्ने उनको अठोट छ । उनले भने, ‘भारतको सीमामा भए पनि यहाँका किसानलाई मलखाद ल्याउन समस्या छ । राजर्षि जनक विश्वविद्यालय, आयुर्वेद मेडिकल कलेजको गुणस्तर बढाउने मेरो कोसिस रहन्छ । जनकपुर परिक्रमा सर्किटलाई अघि बढाउने र जनकपुरधामलाई विश्वसम्पदा सूचीमा राख्ने एजेन्डा पनि मसँग छ ।’