काठमाडौं, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा गुल्मी–२ बाट उम्मेदवार छिन् । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
तर, उम्मेदवारी दिने दिन सहमतिविपरित कांग्रेसका डा. दामोदर भुसालले पनि उम्मेदवारी दिए । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिएनन् । तर, हिजो राति भने भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए । सो क्रममा गठबन्धनकी साझा उम्मेदवार झाँक्री पनि साथमै थिईन् ।
भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएपछि झाँक्रीले आफूहरु सँगै रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल टिव्टरमा लेखेकी छिन्-“डा. दामोदर भूसाल र म विधार्थी राजनीतिक संगै गर्यौं।काठमाडौको सडकमा संगसंगै जुत्ताका तल्ला फटाएको, बिद्रोहको झण्डा संगै उठाएको संझना ताजै छ।गठबन्धनको कारण गुल्मी (२ मा मैले टिकट पाएँ।उहाँ टिकट लिन योग्य मान्छे हो र पनि गठबन्धनको पक्षमा आफूलाई उभ्याउनु भयो। हामीसंगै छौं।”