Logo

अखिल नेपाल सुकुम्बासी संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, माओवादी केन्द्रलाई चुनावमा जिताउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन



काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ ।

गत असोज २७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको संघको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनले पार्टी र वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई चुनावमा जिताउन २ हजार १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, प्रदेश समितिको पदाधिकारी र सदस्यहरु, जिल्ला समितिका पदाधिकारी सदस्यहरु मनोनित गरिएको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गरिएको हो । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गरेका थिए ।

सम्मेलनमा पोलिटब्युरो सदस्य सदस्य तथा संघको फ्याक्सन इन्चार्ज सन्तकुमार थारु, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । सम्मेलनबाट संघका उपाध्यक्ष टिकाराम गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ । त्यस्तै, सम्मेलनले ७५ सदस्यीय केन्द्रीय समिति र १३ सदस्यीय पदाधिकारी टिम समेत चयन गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन विशेष भूमिका खेल्ने लगायतका सम्मेलनले निर्णय गरेको छ । निर्वाचनका लागी संघ विशेष क्रियाशिल हुनेछ ।

संघले नेपालका सम्पुर्ण भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको हक अधिकार र मुक्तिका लागि लड्दै आएको छ ।
बस्ती उठिबासकाविरुद्ध एकजुट भई संघर्ष गर्ने, लालपुर्जा प्राप्त नभएसम्म बस्तीहरुको रक्षा तथा भुमिहिन सुकुम्बासी एवं अव्यवस्थितहरुलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा संगठित प्रशिक्षित गर्ने कामलाई थप व्यवस्थित तुल्याइने संघले निर्णय गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले सम्पुर्ण भूमिहिन सुकुम्बासीको उत्थानको लागि २०६३ मा संघको स्थापना भएको बताएका छन् ।

राज्यको थिचोमिचोमा पारिएका भूमिहिनहरुलाई वैचारिक दृष्टिकोणले संगठित गरेर देशैभर संगठन स्थापना गरेको उनले स्पष्ट पारे । संविधानले भूमिहिनहरुलाई जमिन दिने सुनिश्चित गरेपनि कार्यान्वयनमा सत्तामा बसेका दलहरुबाट भने आश्वस्त हुन नसकेको उनले गुनासो पोखे । नेताहरुले चुनावको मुखमा सुकुम्बासीहरुलाई बारम्बार झुटा सपना दिएर जमिन दिने भन्ने तर चुनाव जितिसकेपछि भने बिर्सने गरेको भन्दै आपक्ति जनाए ।

काठमाडौं महानगरपालिकाको अवैधानिक संरचना हटाउने अभियानको विरोध गर्दै परियारले भने,‘‘भूमि आयोगले जमिनको लालपुर्जा दिने विधेयक बनाइरहँदा काठमाडौं महानगरले मकै पोलेर सडकमा बस्नेहरुलाई लक्षित गरेर आक्रमण गर्नु लोकतन्त्र, संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको दिनदहाडै खिल्ली उडाएको समान हो । यसबाट नागरिकको अधिकार हनन भएको छ । यसमा हाम्रो घोर आपक्ति छ ।” उनले संघ सधै भूमिहिनहरुको पक्षमा रहेको स्पष्ट पारे । भूमिहिनको विषयमा राज्यले सधै दोहोरो चरित्र देखाइरहेको उनले आरोप लगाए ।

 

 



प्रतिक्रिया दिनुहोस्