Logo

‘कमल थापा एमालेको उम्मेदवार हुन सक्ने, विरोध खतिवडा कांग्रेसको उम्मेदवार हुन किन नसक्ने ?’



काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका बाग्मती प्रदेश सभापति एवं मकवानपुर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले आफ्नो विजलाई कसैले छेक्न नसक्ने बताएका छन् ।

‘हाम्रो ध्यान जनताको अवस्था परिवर्तन गर्नेमा छ, जनतालाई सुखी र देशलाई समुन्नत बनाउने महान् अभियानमा  छ । हामी प्रदेश सरकारमा गएको १ वर्षमा मकवानपुरमा १ अर्बभन्दा बढी बजेट हालेको छु । मंसिर ४ पछि त्यसमा फेरि दाम थपिन्छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बानियाँले भने ।

मकवानपुरका गाउँगाउँमा पानी, बाटो, तटबन्धन, सिँचाइ आफू सांसद भएको बेला नै बनेको उनको दाबी छ । उनले कमल थापा एमालेको उम्मेदवार हुन सक्ने अनि विरोध खतिवडा गठबन्धनको उम्मेदवार हुन नसक्ने भनी प्रतिप्रश्न पनि गरे ।

कार्यक्रममा एमालेका प्रदेशसभा उम्मेदवार लालबहादुर थापाले जनताको आर्थिक जीवन परिवर्तन गर्नु नै आफ्नो अभियान भएको बताए । बानियाँले करोडौं बजेट छुट्याएर मौसमी विकास गर्न खोजेको आरोप पनि लगाए । मकवानपुर २ का एमाले उम्मेदवार महेश बर्तौलाले पाँच वर्षभित्र पिउने पानीकोे अभाव अन्त्य गर्ने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्