Logo

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जना पक्राउ



भक्तपुर, ६ कात्तिक । भक्तपुर नगरपालिका–७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् ।

कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हेलमेटसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँके, राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका–१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा.१ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्राम सहित सोही उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय खगेन्द्र डाँगी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.७ प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित चितवन कालिका नगरपालिका–८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिनपुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८७८३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्